गोल्छा समुहको हुलास फिन सर्भको खुद नाफा १२१०% बढ्यो

0
Shares

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ) को खुद नाफा १२०९.८९ प्रतिशतले बढेको छ । व्यवसाय बढेपछि गोल्छा समुहको हायर पर्चोज फाइनान्सिङ संस्थाको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ४ करोड ६४ लाख ७ हजार ३९५ रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०८०–८१ को ९ महीना अवधिमा यस कम्पनीले ५ करोड २ लाख ४३ हजार ७९ रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले ३८ लाख ३५ हजार ६८४ रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ९ महीना अवधिमा कम्पनीले १० करोड ४६ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा १ करोड ६१ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको शुल्क तथा कमिशन आय १२ करोड ३१ लाख ८९ हजारबाट ४ करोड १५ लाख ४ हजारले बढेर १६ करोड ४६ लाख ९३ हजार आम्दानी गरेको छ । समीक्षा अवधिमा कर्जा असुली प्रभावित हुँदा ६ करोड १० लाख १८ हजार रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ । कम्पनीको लोनलस प्रोभिजनिङ्ग ५.४९% रहेको छ । कम्पनीले चालु आवको ९ महीना अवधिमा कुनैपनि अन्य सञ्चालन आम्दानी र नेट ट्रेडिङ्ग इन्कम गरेको छैन ।

चुक्ता पुँजी ८० करोड रहेको हुलास फिन सर्भ कम्पनीको रिटेर्न अर्निङ्गमा २५ करोड २९ लाख ४६ हजार रुपैयाँ र अन्य जगेडा कोषमा १५ करोड १३ लाख १९ हजार रुपैयाँ सञ्चित छ । चालु आवको ९ महीना अवधिमा संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ५३ पैसा रहेको छ । कुल नेटवर्थ १ अर्ब २० करोड ४२ लाख ६६ हजार रहेको छ ।

चालु आवको ९ महीना अवधिमा हुलास फिन सर्भले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६९ करोड ११ लाख ५६ हजार रुपैयाँ कर्जा सापटी लिएको छ । गोल्छा समूहको संलग्नता रहेका कारण कम्पनीलाई बैंक कर्जा प्राप्त गर्न र वित्तीय पृष्ठभूमि राम्रो बनाउन सहयोग मिलेको छ ।

कम्पनीले बजाज ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे मोटर साइकल तथा स्कूटर र केटिएम डुक बाइकको फाइनान्सिङ गर्दै आएको छ । चैत मसान्तसम्म कम्पनीले ग्राहकमा २ अर्ब ८८ करोड ७९ लाख ५६ हजार बराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीले २०७९ चैत २ अर्ब ८५ करोड १२ लाख ११ हजार रुपैयाँ फाइनान्सिङ गरेको थियो । नेपालभर बजाज कम्पनीका १५० बढी डिलर सञ्चालनमा रहेका छन् । सबै डिलरका लागि मोटरसाइकल बिक्री गर्दा फाइनान्सिङ्ग गर्नु परेको खण्डमा हुलास फिन सर्भ मार्फत नै हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा लगानी गर्न स्वीकृती पाएको संस्थाको कुल एसेट ५ करोड ५९ लाख रुपैयाँले बढेर ३ अर्ब १५ करोड ८५ लाख ४७ हजार पुगेको छ ।

नेपालमा १०० वर्ष लामो व्यवसायिक इतिहास रहेको गोल्छा ग्रुपको हुलास फीन सर्भमा ८५ प्रतिशत सेयर रहेको छ । यसैगरी बाँकी १५ प्रतिशत हिस्सा हुलास अटोक्याफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको रहेको छ । हुलास फिन सर्भका प्रबन्ध निर्देशक नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा हुन् । गोल्छाको यस कम्पनीमा पौने २ सय जनाले रोजगारी पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।