रसुवागढी जलविद्युतको साधारण सभा सर्यो, अपर हेवाले पनि बोलायो सभा


रसुवागढी जलविद्युत आयोजनाको साधारण सभाको मिति परिवर्तन भएको छ । सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले आयोजना निर्माणस्थलका समस्याका कारण साधारण सभाको मिति र स्थान परिवर्तन गर्ने निर्णय गरेको हो ।

यस अघि कम्पनीको साधारण सभा असार ११ गतेका लागि बोलाइएको थियो । सोमबारको कम्पनी सञ्चालक समितिको निर्णय अनुसार असार ३० गते कम्पनीको दशौं र एघारौं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि गत जेठ २३ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । जसअनुसार जेठ २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कायम सेयरधनी मात्र सभामा भाग दिन पाउने छन् ।

सभाले वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात तथा आब. २०७८\०७९ को आर्थिक विवरणहरु (नाफा\नोक्सान) हिसाव, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु) माथि छलफल गर्ने छ ।

यस्तै सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधा र कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला सहित ४ जना संचालकहरुको निर्वाचन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यता अपर हेवाखोला जलविद्युत आयोजनाले पनि यस अघि स्थगित भएको साधारण सभा असार २६ गते गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले गत फागुन २४ गते सेयरधनी दर्ता पुस्तिका बन्द भईसकेको र सोही मितिलाई मान्यता दिँदै गौशालास्थित तारकेश्वर पार्टी प्यालेसमा साधारण सभा बोलाउने निर्णय गरेको हो ।

रसुवागढी तथा अपर हेवा दुवै कम्पनीले लगानीकर्तालाई प्रतिफल वितरण गर्ने छैनन् । नियमित प्रस्ताव सहित कम्पनीहरुले साधारण सभा बोलाएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।