प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित

0
Shares

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानूनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।