सुन तस्करी प्रकरणमा ६० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

0
Shares

६० किलो सुन तस्करी प्रकरणमा ६० जना प्रतिवादीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध दोस्रो मुद्दा दायर गरेको हो ।

सीआईबीले गरेको अनुसन्धानलाई आधार बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएकाहरु मध्ये ५० प्रतिवादीलाई विभिन्न आठ अपराधमा सजाय गर्न माग गरिएको छ। जसमा उनीहरूविरुद्ध सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी), हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय गर्नुपर्ने माग गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब रूपैयाँभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ।

विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रूपैयाँ मूल्य बराबरको सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले ६० किलोग्राम सुन तस्करीको अनुसन्धानका क्रममा थप २० जनालाई पक्राउ गरिएको जानकारी दिए।

‘विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत इलेक्ट्रोनिक मालवस्तुमा लुकाइछिपाइ दुई हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सु मा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ’, ब्यूरो प्रमुख ज्ञवालीले भने।

प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत एक हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि मार्फत १७० किलोग्राम आठ ग्राम र रेडी ट्रेड प्रालिमार्फत सात किलोग्राम पाँच ग्राम अवैध सुन नेपाल भित्रिएको थियो। ब्रेक सु मार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको थियो।

अवैधरुपमा भित्रिएका सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत सङ्लग्न रहेको खुल्न आएको छ। ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

विस २०८० बैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पे वेल को वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २ सय ५३ रूपैयाँ कारोबार भएको र सजिलो पेको वालेटमार्फत २०७८ जेठदेखि २०८१ जेठसम्म ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २ सय ४७ रूपैयाँ कारोबार भएको पाइएको छ।

सीआईबीले उक्त प्रकरणमा ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउ समेत गरेको छ।

ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलोग्राम ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले विस २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो। उनीहरुबाट तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५ सय ५२ रूपैयाँ मागदाबी गरिएको थियो।

सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना अभियुक्तहरू हाल पुर्पक्षका लागि थुनामा छन्। यस्तै, सोही सुन प्रकरणमा दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ। बैशाखबाट सुरु गरिएको दोस्रो चरणको अनुसन्धानमा १४ नेपाली, दुई चिनियाँ र चार भारतीय नागरिक पक्राउ परेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ असार २०८१, मंगलबार  १७ : ५९ बजे