कतार एयरवेजको नाफा १.७ अर्ब डलर, ३९ प्रतिशत बढ्यो

0
Shares

कतारको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी कतार एयरवेज (क्यूए) ले वित्त वर्ष २०२३/२४ मा २७ वर्ष पछिकै उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ ।  कम्पनीले हालै सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार एयरलाइन्सले आफ्नो नाफालाई ३९ प्रतिशतले बढाएर १.७ अर्ब डलर (६.१ बिलियन कतारी रियाल) नाफा आर्जन गरेको हो ।

मार्च ३१ मा समाप्त भएको वित्त वर्षमा कम्पनीको आम्दानी पनि ६ प्रतिशतले वृद्धि भएर १.१३ अर्ब डलर पुगेको छ । सरकारी स्वामित्वको उक्त एयरलाइन्सले उक्त वर्षमा ४ करोड यात्रु बोकेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले धेरै हो ।

कम्पनीका प्रमुख कार्यकारी बद्र मोहम्मद अलमीरले एक विज्ञप्तिमा विश्व ट्राभल उद्योगले सामना गरिरहेका हालसालैका चुनौतीहरूमा राम्रो लक्ष्य प्राप्ति गरेको बताएका छन् । कोरोना महामारीपश्चात विश्वमा हवाई यात्रा बढ्दै गएको छ । तर हवाई उद्योग आर्थिक मन्दी तथा आपूर्ति श्रृंखलामा आएको अवरोध र बोइङमा देखा परेको सुरक्षा संकट जस्ता समस्याले विमान कम्पनीहरुले माग अनुरुप विमान थप्न सकिरहेका छैनन् ।

गत मे महिनामा कम्पनीले वाइडबडी जहाजअर्डरका लागि हवाई निर्माता कम्पनी एयरबस र बोइङसँग वार्ता भइरहेको उल्लेख गरेको थियो । प्रमुख कार्यकारी अलमिरले विमान कम्पनीहरुले डेलिभरी दिन ढिलाई गर्छन या गर्दैनन् भन्ने बारेमा प्रारम्भिक चरणको वार्ता भइरहेकोउल्लेख गरेका छन् ।

उता कम्पनी वित्त वर्ष २०२४ को लागि सर्वोत्कृष्ट हवाई कम्पनी पनि बनेको छ । अष्ट्रेलियन रेटिङ एजेन्सी ‘एयरलाइन रेटिङ डट कमले सार्वजनिक गरेको यस वर्षका लागि विश्वका उत्कृष्ट हवाई कम्पनीको सूचीको पहिलो स्थानमा कतार एयरवेज पर्न सफल भएको हो ।

कम्पनीका जहाजले हाल ७० भन्दा बढी मुलुकका १५० गन्तव्यमा उडान गर्ने गरेको छ । कम्पनीले २५४ वटा विमानहरू मार्फत सेवा र्पुयाइरहेको छ ।कम्पनीमा ४३ हजारभन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।