काठमाडौं महानगरको बजेट खर्च पाँच वष यताकै उच्च, पुँजीगत खर्च ४२.३५ प्रतिशत

0
Shares

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा पाँच वर्षयताकै उच्च बजेट खर्च गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरले आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटेको ५१.०४ प्रतिशत खर्च भएको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०८०/८१ का लागि महानगरले २४ अर्ब १९ करोड ८४ लाख रुपैयाँको बजेट ल्याएको थियो । असार तेस्रो सातासम्म १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो । यो गएको पाँच वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको महानगरले जनाएको छ । यस्तै महानगरले यस वर्ष खर्चमा उल्लेख्य वृद्धि गर्दै चालु खर्च ६४.४० प्रतिशत र पुँजीगत खर्चमा उच्च सुधार गर्दै ४२.३५ प्रतिशत खर्च गरेको छ । चालु खर्चतर्फ ९ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा महानगरले ५ अर्ब ८३ करोड र १५ अर्ब १० करोड १० लाख रुपैयाँ पुँजीगत बजेट छुट्याएकोमा खर्च ६ अर्ब ३९ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ ।

महानगरका अनुसार आव २०७९/८० मा २२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएकोमा ९ अर्ब १८ करोड, आव २०७८/७९ मा १६ अर्ब ५२ करोडमा ७ अर्ब ३१ करोड, आव २०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाखमा ५ अर्ब ७० करोड र आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट विनियोजन गरेकोमा ६ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । प्रतिशतका हिसाबले आव २०७९/८० मा ४०.२ प्रतिशत, आव २०७८/७९ मा ४४.३ प्रतिशत, आव २०७७/७८ मा ३६.७० र आर्थिक वर्ष २०७६/७७ मा ४९.७० प्रतिशत खर्च भएको थियो ।

प्रवक्ता नविन मानन्धर खर्च बढ्नुमा नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयन गरिनुलाई प्रमुख कारण ठान्छन् । योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भएको उनको भनाई छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट (१२ अर्ब ९८ करोड) बराबर हो । यसको अघिल्लो वर्ष आव २०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा ५० प्रतिशत (६ अर्ब ४५ करोड रुपैयाँ) खर्च भएको थियो भने त्यसपछि वर्षहरुमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो ।

यस्तै महानगरले चालू आर्थिक वर्षको २०८१ असार २४ गते सम्ममा करिब १० अर्ब आन्तरिक आय सङ्कलन भएको छ ।

चालू, पुँजीगत र वित्तीय खर्च

महानगरका अनुसार पाँच वर्ष अघि २०७६/७७ मा ७७.२ प्रतिशत (१ अर्ब ५१ करोड) चालू खर्च भएकोमा हाल आर्थिक वर्ष २०८०/८१ मा यो दर ६४.४ प्रतिशत (५ अर्ब ८३ करोड) मा सीमित भएको छ ।  यस्तै आर्थिक वर्ष २०७७/७८ मा ६४.९० प्रतिशत (३ अर्ब ५५ करोड), २०७८/७९ मा ६५.९० प्रतिशत (४ अर्ब २९ करोड) र २०७९/८० मा ६४.९० प्रतिशत (५ अर्ब २२ करोड) रहेको थियो ।

यसैगरी काठमाडौं महानगरले पुँजीगत खर्चमा समेत उल्लेख्य वृद्धि गरेको छ ।चालु आर्थिक वर्षमा महानगरले ४२.३५ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आवका लागि १५ अर्ब १० करोड १० लाख रुपैयाँ पुँजीगत बजेट छुट्याइएकोमा ६ अर्ब ३९ करोड ६१ लाख रुपैयाँ खर्च भएको हो । आर्थिक वर्ष २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ प्रतिशत र २०७९/८० मा २६ प्रतिशत रहेको पूँजीगत खर्चमा उत्साहजनक वृद्धि भएर ४२ प्रतिशत पुगेको छ । यो पटक महानगरले १६ प्रतिशत खर्च वृद्धि गरेको हो ।

महानगरको पुँजीगत खर्च आर्थिक वर्ष २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ र २०७९/८० मा २६ प्रतिशत मात्र थियो । पाँच वर्षअघि २०७६/७७ मा भने ४४.८० प्रतिशत खर्च भएको थियो । उक्त वर्षमा पुँजीगत शीर्षकमा ११ अर्ब २ करोड पुँजीगत बजेट विनीयोजन गरेकोमा ४ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको हो । अर्कोतर्फ २०७७/७८ मा २३ प्रतिशत वित्तीय खर्च भएकोमा हाल शतप्रतिशत पुगेको छ । यसबाट महानगरपालिकाको २०८०/८१ को खर्च बढ्नुमा पुँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड बेरुजु रहेकोमा २०७४/७५ मा ६९ प्रतिशतले कमी आएर ३४ करोड मात्र बेरुजु रहेको थियो। तत्पश्चात २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा ३२० प्रतिशतले वृद्धि भएको बेरुजु आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६१ प्रतिशतले कमी भई २६ करोड मात्र कायम रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।