विदेश पढ्न जाने विद्यार्थीले ‘एब्रोड स्टडी’ को नाममा खर्चिए सवा एक खर्ब रकम

0
Shares

विदेशी विश्वविद्यालयमा उच्च शिक्षाका अध्ययनका नाममा मात्रै चालु आर्थिक वर्षको एघार महीनामा करिब सवा एक खर्ब रुपैयाँ खर्चिएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ‘एब्रोड स्टडी’ का नाममा मात्रै १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ विदेश लगेको तथ्याङ्क बाहिरिएको हो । यहि अवधिमा नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले पाँच अर्ब ५३ करोड भित्र्याएका छन् ।

सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको जेठ मसान्तसम्ममा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब १८ करोड रुपैयाँ लगेका थिए । समीक्षा अवधिमा यस्तो रकम २७ अर्ब ८३ करोड रुपैयाँ बढेको हो ।  त्यस्तै चालु आवको ११ महिना (साउनदेखि जेठ) सम्ममा नेपालीहरूले विदेश घुम्ने क्रममा ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी नेपालबाट विद्यार्थी र विदेश भ्रमणमा कुल १ खर्ब ७५ अर्ब ७ करोड ककरूपैयाँ लगेका छन् । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको हाे ।

चालु आर्थिक वर्षको ११ महिना पर्यटकहरूबाट ७६ अर्ब ५५ करोड रूपैयाँ भित्रिएको छ । सन् २०२४ को यो ६ महिना (जुनसम्म) को अवधिमा ५ लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपालमा पर्यटकहरूले भित्र्याउने भन्दा नेपालबाट विदेश अध्ययनको लागि जाने तथा घुम्न जानेले लैजाने रकम ९८ अर्ब ५२ करोड रुपैयाँ धेरै रहेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा खुद सेवा आय ५८ अर्ब ६ करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनाको अवधिमा सेवा आयतर्फको खाता उक्त मूल्यले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।