अर्थसचिवमा रामप्रसाद घिमिरे, दिनेश घिमिरेले पाए राजस्व सचिवको जिम्मेवारी

0
Shares

अर्थ सचिवमा डा. रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् । उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चौथो पटक मन्त्री बन्दा राजस्व सचिव बनाएका थिए ।

अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । राजस्व रहेका घिमिरे अर्थ सचिवमा बढुवा भएसँगै उनको स्थानमा वाणिज्य सचिव दिनेश घिमिरेले जिम्मेवारी पाएका छन् । अर्थ मन्त्रालयमा अर्थसचिवलाई सिनियर र राजस्व सचिवलाई जुनियर मानिन्छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकै पटक ठूलो संख्यामा सचिवहरु हेरफेर गरेको हो । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसनधान आयोगबाट रक्षा सचिवको नेतृत्वमा पुगेका छन् । श्रम रोजगार तथा समाजिक सुरक्षा सचिवमा मुकुन्द निरौला आइपुगेका छन् । निरौला यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए ।

यस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई वित्त आयोगमा सरुवा गरिएको छ । लोकसेवा आयोगमा डिल्लीराम शर्मा र सूचना तथा सञ्चार सचिवमा राधिका अर्याल पुगेकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा मन्त्रालय सरुवा गरिएको छ । जल तथा ऊर्जा आयोगका सचिव केशव कुमार शर्मा बिडारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तानिएको छ । जल तथा ऊर्जा आयोगको सचिवमा प्रमिला बज्रचार्यलाई सरुवा गरिएको छ ।

राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडीले जिम्मेवारी पाउँदा राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य सचिवमा मधुसुदन बुर्लाकोटी र सार्वजनिक खरिद कार्यालयमा रामकृष्ण सुवेदीले जिम्मेवारी पाएका छन् ।

संघीय मामिला सचिवमा भरत सुवेदी, वित्त आयोगमा किरण राज शर्मा र भौतिक पूर्वाधार सचिवमा केशवकुमार शर्मा पुगेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।