प्रशासनिक बाहेकका काम कार्वाही प्रभावित हुँदै आएको नेपाल धितोपत्र बोर्डले गरिमा समृद्धि योजनाका इकाई निष्काशन गर्न स्वीकृति दिएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाका इकाई निष्काशनका लागि बोर्डले स्वीकृति दिएको हो ।
एक अर्ब रुपैयाँ बराबरको “गरिमा समृद्घि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०८१ साल मंसिर महिना ०५ गते स्वीकृती प्राप्त भएको गरिमा क्यापिटलले जनाएको छ । प्रति इकाई १० रुपैयाँको दरमा १० करोड इकाईहरु छिट्टै निष्काशन गरिने पनि क्यापिटलले जनाएको छ ।
कम्तीमा ५ करोड अर्थात ५० प्रतिशत इकाई बिक्री हुनै पर्ने व्यवस्था छ भने बढीमा २५ प्रतिशतसम्म बढी आकारको इकाई बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ । यस आधारमा फण्डको आकार १ अर्बबाट १ अर्ब २५ करोड रुपैयाँसम्मको बनाउन सकिन्छ ।
१० वर्ष अवधिको योजनाका सबै इकाईहरुको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईएमबि एस क्यापिटलले गर्नेछ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवाहरु प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया