फेरिएन सेयर बजारको रंग, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्खदै लगानीकर्ता


सेयर बजार परिसूचक घट्ने क्रमले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको गत साताको अन्तिम दिन बिहीबार ३१ अंकले घटेको नेप्से सूचक आइतबार १३ अंकले घटेको हो । 

आइतबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि कमी आएको छ । गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन बिहीबार करिब ८ अर्ब भन्दा धेरैको सेयर किनबेच भएको सेयर बजारमा आइतबार साढे ७ अर्बमा सीमित भएको छ । अर्थतन्त्रका अन्य पक्ष सेयर बजारलाई सर्पोट गरेको भएपनि आन्तरिक आर्थिक गतिविधिमा सुधार आउन नसक्दा सेयर बजारले सकारात्मक गति लिन सकेको छैन ।
 
पछिल्लो समयमा बैंकिङ क्षेत्रले पुर्ण सर्पोट गर्दा पनि सेयर बजारले सकारात्मक गति लिन सकेको छैन । वित्तीय प्रणालीमा अधिक तरलता, कर्जा लगानी योग्य रकमका उपलब्धता तथा निरन्तर घट्दो ब्याजदरले समेत धितोपत्र बजारलाई सकारात्मक बनाउन नसकेको हो । 

अर्थतन्त्र सुस्त भइराख्दा धितोपत्र बजारले गति लिन नसकेपछि लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई पर्खेको बुझ्न सकिन्छ । नेपाल राष्ट्र बेंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत धितोपत्र बजारलाई ध्यानमा राखेर नीतिगत संशोधन गर्न सक्ने आनुमान लगानीकर्ताको छ ।

मौद्रिक नीतिको पहिलो समीक्षाले कर्जा नीतिलाइ केही खुकुलो बनाउने भएकाले धितोपत्र बजारमा लगानी बढ्ने अपेक्षा लगानीकर्ताको छ । त्यसले गर्दा पनि राजनीति वृत्तमा देखिएको अस्थिर भन्दा पनि लगानीकर्ताको ध्यान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केन्द्रीय भएको ब्रोकरहरुको भनाइ छ ।    

यो साता पहिलो कारोबारको दिन नेप्से  परिसूचकमा दोहोरो अङ्कको घटेको छ । आइतबार नेप्से परिसूचक १३.०३ अङ्कले घटेर २६६७. ४० को बिन्दुमा झरेको छ । आइतबार तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता सेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० रुपैयाँ को कारोबार भएको छ ।

लगानी समूह ०.८ र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छन् । सबैभन्दा बढी विकास बैंक समूह १.६३ प्रतिशतले घटेको छ । 

बैंकिङ ०.५४, वित्त ०।३७, होटल तथा पर्यटन ०.४९ र जलविद्युत् समूह ०.४१ प्रतिशतले घटेका छन् । त्यसैगरी जीवन बिमा ०.५५, लघुवित्त ०.९४, म्युचुअल फण्ड, ०.१२, निर्जीवन बिमा ०.१७, व्यापार ०.७ र अन्य समूह ०.७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ ७.७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ रुपैयाँ बराबरको सयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको ७ लाख २० हजार ८ सय १३ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार  १६ : ०९ बजे