नेपाल धितोपत्र बोर्डले करिब ११ महिना पछि नेतृत्व पाउने भएसँगै सेयर लगानीकर्ताको मनोबल सकारात्मक देखिएको छ । निवर्तमान अध्यक्ष रमेश हमाल गत पुस २० गते बोर्डबाट बाहिरीए पछि खाली रहेको बोर्ड नेतृत्व चरम विवादका बिच नियुक्त हुने अन्तिम चरणमा पुगेको हो ।
अध्यक्ष छनोट समितिले आइतबार सरकारलाई तीन जनाको नाम सिफारिस गरेको छ । तीनै मध्येबाट सरकारले एक जनालाई आगामी ४ वर्षका लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको पूर्वसन्ध्यामा छलफलका लागि सोमबार मन्त्री परिषदको बैठक समेत बोलाएका छन् । सोमबार कै मन्त्री परिषदको बैठकले बोर्ड अध्यक्षको पनि नियुक्त गर्ने सम्भावना उच्च छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुने खबर संगै सेयर लगानीकर्ता पनि उत्साहित भएको देखिन्छ । नियामक निकायमा नेर्तत्व आउने खबर सँगै धितोपत्र बजार सूचक १५ अंकले बढेको छ । तर, कारोबार रकममा भने गिरावट आएको छ । आइतबार साढे ७ अर्ब भन्दा धेरैको सेयर कारोबार भएको नेप्सेमा सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ ।
यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५.८३ अङ्कले बढेर २६८३.२४ को विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक १३ अंकले घटेको थियो ।
सोमबार ३ सय ९ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता सेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२३ र म्युचुअल फन्ड ०.३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै वित्त समूह २.२७ प्रतिशतले बढेको छ । बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, जलविद्युत् ०.४४ र लगानी समूह १.०५ प्रतिशतले बढेका छन् ।
त्यस्तै, जीवन बीमा ०.२३, लघुवित्त ०.१९, निर्जीवन बीमा १.२७, व्यापार ०.०९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५४ करोड सात लाख ५० हजार छ सय ७८ बराबरको १० लाख ७७ हजार छ सय ८५ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया