मुस्ताङको ८,९९९ फिट उचाइमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन


काठमाडौँ । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ ।

भिजी मोटर्स प्रा लि नेपालका लागि एसआरएम र जोलङ (व्यथयिलन) ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका, वडा नं. ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरेको हो ।

उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेट मै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छन् । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको छ ।

भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारी साधन आयात गरी विक्री वितरण गरिरहेको छ । एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो र यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ । एसआरएमका भ्यानहरु स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिका लगायतका लागि निकै उपयोगी छन् । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ ।

कम्पनीले जोलङको ईए४ ईए५ र ईए६ नेपाली बजारमा भित्र्याएको छ । जोलङ ईए५ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए६ २० सिटको भ्यान हो । यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एकपटकको चार्जमा ४०० किलोमिटर कुद्छ ।

 

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार  १३ : १८ बजे