मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २८ गते आइतबार राजधानीमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ का लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ ।
साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट एक जना गरी ४ जना सञ्चालकहरु नियुक्त भएका छन् । संस्थापकतर्फ यादव अधिकारी, रामहरी शर्मा, र सुमन प्रसाद अधिकारी तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट सतिश गौतम आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त भएका हुन् ।
वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका १०, नयाँ बानेश्वरबाट काठमाण्डौं महानगरपालिका वडा नम्बर ११, थापाथलीस्थित आफ्नै भवनमा ठाउँसारी गर्नका लागि प्रवन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पनि साधारण सभाले गरेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७ अर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा छ भने २७ वटा शाखा तथा एक बिस्तारित काउन्टरमार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
प्रतिक्रिया