नागरिक लगानी कोषले पारित गर्यो लाभांश वितरणको प्रस्ताव


नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस पितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषको कार्यक्रमहरूको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिए ।

कोषका विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको उनको भनाई थियो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको कार्कीले बताएका थिए । हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए ।

साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति: २९ पुस २०८१, सोमबार  १८ : ०० बजे