आइसिएफसि फाइनान्सको डिबेञ्चर ओभर सब्स्क्राइब्ड, दुई गूणा बढी आवेदन


आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र पहिलो दिन नै ओभर सब्स्क्राइभ भएको छ । फाइनान्सले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ को ऋणपत्रमा बिहीबार बिहान १० बजेसम्ममा २.११ गूणा बढी आवेदन परेको हो ।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरमा सर्वसाधारणमा १ लाख २० हजार कित्ता निष्काशन गरेकोमा बिहीबार बिहान १० बजेसम्ममा ४ हजार २५९ वटा आवेदनबाट कुल ३ लाख ३ हजार ८१२ कित्ता माग भएकोमा ४७७ वटा आवेदन रद्ध भएका छन् । रद्ध भएका आवेदन बाहेक २ लाख ५२ हजार ९४३ कित्ता ऋणपत्रको आवेदन सदर भएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरी बाँकी रहेको १ लाख २० हजार कित्ता ऋणपत्रबाट ५ प्रतिशत अर्थात ६,००० कित्ता सामुहिक लगानी कोषहरुलाई अलग गरी अरु ऋणपत्र सर्वसाधारणका लागि निष्काशन भएको हो ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले फाइनान्सलाई केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति: १० माघ २०८१, बिहीबार  १२ : ३९ बजे