लगानीकर्तामा नयाँ वर्षको उत्साह : नेप्से सूचक उकालो लाग्दा कारोबार रकममा वृद्धि


काठमाडौँ ।  नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन नेपाली सेयर बजारमा उत्साहजनक सुरुवात देखिएको छ । लगानीकर्ताले सेयरबजारप्रति सकारात्मक धारणा बनाएसँगै नेप्से सूचक २७.१४ अंकले उकालो लागेर २६८९.२२ विन्दुमा अडिएको छ ।

गत आइतबार नेप्से ८.६२ अंकले घटेको थियो भने, मंगलबार बजारले त्यसको उल्टो धार समाएको छ । जसकारण बजारले नयाँ वर्षको आगमनसँगै नयाँ ऊर्जा पाएको देखिन्छ ।

आज कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्दै ८ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा २ अर्ब ५२ करोड रुपैयाँले बढी हो ।

कारोबारमा आएका ३२० कम्पनीमध्ये २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको हो । विशेषगरी कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकमा लगानीकर्ताको भरोसा उच्च देखिँदा ती कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ ।

यता बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटेको छ । यस्तै वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.१७ प्रतिशतले ओरालो लागेको हो ।

यस्तै आज लगानी समूह सर्वाधिक २.७१ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.४६ प्रतिशत, होटल तथा पर्यटन समूह १.९९ प्रतिशत, जलविद्युत समूह १.४७ प्रतिशत, फाइनान्स १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२२ प्रतिशतले बढेको छ । आज म्युचुअल फन्ड समूह ०.०७ प्रतिशत र टे«डिङ समूह ०.६४ प्रतिशतले घटेका छन् ।

यो सकारात्मक सुरुवातले नयाँ वर्षमा सेयर बजारप्रति लगानीकर्ताको विश्वास बलियो हुँदै गएको संकेत दिएको छ । यदि यस्तै प्रवृत्ति कायम रह्यो भने २०८२ साल नेपाली सेयर बजारका लागि उल्लेखनीय बन्न सक्ने देखिन्छ ।

 

प्रकाशित मिति: २ वैशाख २०८२, मंगलबार  १७ : ३१ बजे