काठमाडौं । सेयरबजार परिसूचक नेप्से बुधबार सामान्य अंकले बढेको छ । नव वर्षको सुरुवातसँगै उकालो लागेको सेयरबजार आज ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको हो ।
कारोबारमा आएका कुल ३२९ कम्पनी मध्ये १४६ कम्पनीको सेयरमूल्य बढ्दा ९७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै दुई कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।
बुधबार कारोबारमा आएका कम्पनी मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस्तै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य आज ९.९९ प्रतिशत विन्दुले उकालो लागेको छ । सेयरमूल्य बढेका पाँच शीर्ष कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ जसको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।
यता गुँरास लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ भने सिन्धु विकास बैंकको सेयरमूल्यमा ४.३९ प्रतिशत, रिभर फल्स पावर २.७० प्रतिशत र मन्दाकिनी हाइड्रोपावर २.५१ प्रतिशतको गिरावट देखिएको छ ।
बुधबार सेयरबजार सूचकांक नेप्से ७.०१ अंकले बढेता पनि कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार आठ अर्ब ५४ करोड रुपैयाँ पुगेको कारोबार रकम बुधबार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँमा खुम्चिएको छ ।
समूहगत रुपमा आज जलविद्युत समूह सर्वाधिक १.६३ प्रतिशतले बढेको छ भने विकास बैंक समूह १.११ प्रतिशत, र्निजीवन बीमा समूह ०.५५ प्रतिशत, बैकिङ ०.३९ प्रतिशत, म्युचुअल फन्ड समूह ०.३६ प्रतिशत, व्यापार समूह ०.११ प्रतिशत र जीवन बीमा समूह ०.०५ प्रतिशतले उकालो लागेको छ ।
यता अन्य समूहमा १.०७ प्रतिशत, फाइनान्स ०.६७ प्रतिशत, लगानी समूह ०.३५ प्रतिशत, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह ०.१६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०६ प्रतिशतले घटेको छ ।
नयाँ वर्षलाई लगानीकर्ताले स्वागत गरेतापनि हाल सेयरबजारमा देखिएको वृद्धि कहिलेसम्म टिक्छ भन्ने प्रश्नको जवाफ लगानीकर्ताको मनोबलले नै बताउनेछ ।
प्रतिक्रिया