विद्युतीय सवारी साधनको बीमा नीतिबारे नाडा र बिमा प्राधिकरणबीच छलफल


काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) र नेपाल बिमा प्राधिकरणबीच विद्युतीय सवारी साधनहरूको बीमा नीति निर्माण सम्बन्धमा छलफल भएको छ ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतीय सवारीको स्पष्ट, पारदर्शी र सुसंगत बीमा नीति आवश्यक रहेको जानकारी गराएको हो । छलफलमा जोखिम व्यवस्थापन, स्पेयर पाट्र्स, मूल्यांकन र क्लेम प्रक्रिया सुधारका विषय उठान गरेको नाडाले जनाएको छ ।

प्राधिकरणले बीमा नीति निर्माणमा नाडालाई प्रत्यक्ष समावेश गराउने प्रतिबद्धता जनाएको छ भने नीति निर्माणका क्रममा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी दक्षिण एसियाली राष्ट्रहरूका अनुभव समेटिने जानकारी दिएको छ ।

भेटमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ५ वैशाख २०८२, शुक्रबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।