सेयर बजार फेरि ओरालो यात्रामा, दुई दिनमा २४.४३ अंकको गिरावट


काठमाडौँ । नव वर्ष २०८२ को सुरुआती दिनमा सेयरबजारमा देखिएको रौनक हराउँदा सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ ।

कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार सूचक नेप्से ७.७५ अंकले घटेको छ । आइतबार १६.६८ अंकले घटेको नेप्से सोमबार ७.७५ विन्दुले घटेर २६९८.२८ विन्दुमा कायम भएको हो । यसरी दुई दिनमा बजार २४.४३ अंकले घटेको छ ।

सोमबार करोबारमा आएका ३१९ कम्पनी मध्ये ११२ ओटा कम्पनीको सेयर बढ्दा १३३ ओटा कम्पनीको सेयर मूल्य घटेको हो ।

सोमबार नेपाल माईक्रो इन्स्योरेन्स र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै कर्पोरेट डेभेलपमेन्ट बैंकको सेयर ९.८८ प्रतिशतले बढेको छ । युनिभर्सल पावर कम्पनी लिमिटेडको सेयर ९.८० प्रतिशतले बढ्दा नेपाल हाइड्रो डेभलपर्सको सेयर ९.०७ प्रतिशतले बढेको छ ।

यता १२ प्रतिशत गुडविल फाइनान्स २०८३ डिबेन्चर बन्डको सेयरमूल्यमा सबैभन्दा बढि ७.७५ प्रतिशतको गिरावट आएको छ । यस्तै एनएमबी हाइब्रिड फण्ड एल दोस्रोको सेयरमूल्य ७.७० प्रतिशतले घटेको छ । नेपाल एसबीआई बैंकको सेयरमूल्य ४.१७ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्तको सेयर ४.०२ प्रतिशत, ग्रीन डेभेलपमेन्ट बैंकको सेयरमूल्य ४.१२ प्रतिशत र त्रिशुली जल विद्युत कम्पनीको सेयरमूल्य ३.७१ प्रतिशतले घटेको छ ।

समूहगत रुपमा आज जलविद्युत समूह ०.७७ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड ०.४४ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, लगानी समूह ०.१७ प्रतिशत, होटल र पर्यटन समूह ०.०६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.०३ प्रतिशत विन्दुले बढेको हो । यसबाहेकका सबै समूहमा आज गिरावट आएको छ ।

आज व्यापार समूह १.५२ प्रतिशत, वित्त समूह १.०३ प्रतिशत, अन्य समूह १ प्रतिशत, बैंकिङ्ग समूह ०.८५ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत, र्निजीवन बीमा ०.१५ प्रतिशत र लघुवित्त समूह ०.११ प्रतिशतले ओरालो लागेको हो ।

आज २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति: ८ वैशाख २०८२, सोमबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।