काठमाडौँ । सेयर बजारमा बेमौसमी सुख्खा पहिरो आएको छ ।
साताको सुरुआती दिनदेखि नै ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले घट्दा नेप्से सूचांकले सुख्खा पहिरोको संकेत गरेको हो ।
बुधवार नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ अंकमा पुगेको हो । आइतबार १६.६८ अंकले घटेको बजार सोमबार ७.७५ अंक र मंगलबार ९.९६ अंकले घटेको थियो । यसरी पछिल्लो चार दिनमा मात्रै सेयर बजारमा ६६.६७ अंकको गिरावट आएको छ ।
आज कारोबारमा आएका ३०८ कम्पनी मध्ये २८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर समान ९.९९ प्रतिशतले बढेको छ । राधि विद्युत कम्पनीको सेयर मुल्य ३.८० प्रतिशत, सिटिजन्स सुपर ३० म्याचुअल फन्डको सेयर २.६४ प्रतिशत, प्रभु माहालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मुल्य २.३९ प्रतिशतले बढेको छ ।
यता कर्पाेरेट डेभेलपमेन्टको सेयर सबैभन्दा बढि ९.०६ प्रतिशतले घट्दा मकर जितुमाया सुरि हाइड्रो पावरको सेयर मुल्य ५.७४ प्रतिशत, सानिमा माई हाइड्रोपावरको सेयर ४.७६ प्रतिशतले, सिन्धु विकास बैंकको सेयर मुल्यमा ४.४३ प्रतिशतले र सुपर मादि हाइड्रोपावरको सेयर मुल्य ४.३६ प्रतिशतले घटेको छ ।
सेयर बजार परिसूचक नेप्से मात्रै नभई आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँको काराेबार भएकोमा बुधवार कारोबार रकम घटेर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २४६ रुपैयाँ कायम भएको छ ।
कारोबार रकम १ अर्ब २० करोड २ लाख ३ हजार ४७ रुपैयाँले घटेको हो ।
समुहगत रुपमा म्याचुल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै समुहको सेयर मुल्य घटेको छ ।
पछिल्लो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रमले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा सेयर बजारमा भारी गिरावट आएको छ ।
प्रतिक्रिया