काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मोडलका पल्सर एन१६० र एन१२५ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित बजाज ग्राण्ड कार्निभलमा यी दुई नयाँ मोडलहरू भव्य रूपमा सार्वजनिक गरिएका हुन्।
कम्पनीका अनुसार पल्सर एन१६० र एन१२५ दुवै मोडलले पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन मार्फत रोमाञ्चक राइड अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
पल्सर एन१६० को विशेषता:
पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश गरिएको छ, जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएम टर्क उत्पादन गर्छ। यसमा पाँच गियर भएको ट्रान्समिशन, डुअल-च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फोर्क्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन उपलब्ध छन्। साथै, राइड मोड डिस्प्ले, टर्न-बाइ-टर्न नेभिगेसनजस्ता प्रविधिहरू पनि समावेश छन्।
पल्सर एन१२५ को विशेषता:
यसमा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन छ, जसले १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ। यो मोडल उत्कृष्ट इन्धन सक्षमता, ५-स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषतासहित आएको छ।
कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले नयाँ मोडलहरूप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “एन१६० ले पावर र डिजाइनमार्फत बजारमा आफ्नो पहिचान बनाउनेछ भने एन१२५ले इन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ।”
ग्राण्ड कार्निभलमा टेस्ट राइडको सुविधा, स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूमार्फत उच्चतम मूल्यांकन, जीरो सर्भिस चार्ज, नगद तथा पुरस्कार जित्ने अवसरसहित “खुसीको मिटर” योजना लागू गरिएको छ। साथै निःशुल्क एक्सेसरीजको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
बजाज प्रेमीहरूले बैशाख १६ देखि २१ गतेसम्म भृकुटीमण्डपमा चलिरहेको ग्राण्ड कार्निभलमा सहभागी भई यी नयाँ मोडलहरू अवलोकन र खरिद गर्न सक्नेछन्।
प्रतिक्रिया