सार्वजनिक यातायात सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने


सरकारले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने उद्घोष गरेको छ । शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा यस्तो गरिने बताएका हुन् ।

संघीय संसदमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रुपमा संबोधन गर्दै राष्ट्रपति पौडेलले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवार बनाउने कार्यक्रम अघि सारिने उनको भनाई थियो ।

रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने उनले बताए । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने उनको भनाई थियो ।

राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरु निर्माण गर्ने, सरुङमार्ग, द्रुतमार्गजस्ता आधुनिक निर्माणमा सरकारले जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । सडक तथा पुलको निर्माण र परिचालनमा तीन तहका सरकारको बीचमा समन्वय र सहकार्य गरी अगाडि बढ्ने योजना ल्याइने राष्ट्रपति पौडेलले बताए ।

सडक सुविधा नपुगेका दुर्गम क्षेत्रको यातायातलाई सहज तुल्याउन तुइन व्यवस्थापन गर्ने र झलुङ्गे पुलको निर्माणमा सरकार अग्रसर हुने उनले बताएका थिए ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।