सुल्झिएन गभर्नर नियुक्ति विवाद : सिफारिस समिति सदस्य नै गभर्नरका उम्मेदवार !


काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिकै सदस्य गभर्नर बन्ने चर्चा चल्न थालेको छ । बिचौलियाको चलखेलका कारण कानुन नै मिचेर सरकारले १ महिनाभन्दा लामो समयदेखि गभर्नर पद रिक्त राखेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेर उनलाई राजीनामा दिन लगाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा उनको राजीनामा स्वीकृत भएको छैन ।

कामु गभर्नर नीलम ढुंगानालाई नै ओलीले गभर्नर बनाउन चाहेका छन् । सोही कारण ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् ।

भट्टलाई गभर्नर बनाउन सकस पर्ने देखिएपछि कांग्रेसले नयाँ नाम अघि सारेको छ– अर्थविद् डा. विश्व पौडेल । पौडेल तिनै व्यक्ति हुन्, जो सरकारले बनाएको सिफारिस समितिका सदस्य छन् ।

शनिबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेलको नाम अघि सार्ने बताएको जनाइएको छ ।

उनलाई सिफारिस समितिबाट राजीनामा दिन लगाएर गभर्नरमा सिफारिस गर्ने तयारी रहेको कांग्रेस स्रोत बताउँछ ।

गएको २४ चैतमा गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गभर्नर पद रिक्त छ । पद रिक्त हुनु १ महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान भए पनि राजनीतिक दाउपेच र बिचौलियाको प्रभावमा हालसम्म राष्ट्र बैंक नेतृत्वविहीन छ ।

प्रकाशित मिति: २८ वैशाख २०८२, आइतबार  ०९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।