आकाश गोल्छालाई ३ प्रश्न

‘अटो क्षेत्रमा लगानी खुकुलो गर्ने हो भने लिक्विडिटी पनि घट्छ, व्यापार पनि फस्टाउँछ’


काठमाडौँ । पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्नेभन्दा बिजुलीबाट चल्ने सवारीसाधन (इभी) को आयात बढ्दै गएको छ ।

इभीको माग बढेपछि आयातमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा झन्डै ८ हजार युनिट इभी आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चैत मसान्तसम्म ७ हजार ९५८ युनिट विद्युतीय सवारीसाधन (कार, जिप र भ्यान) आयात भएको हो ।

इभी आयात बढेसँगै पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूको व्यापारमा भने केही कमी आएको छ ।

३ प्रश्नको आजको अंकमा हामीले अटो व्यापारको विषयमा अटो मोबाइल व्यवसायी आकाश गोल्छासँग कुरा गरेका छौँ ।

  • इभी आयात र प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको व्यापारमा कस्तो असर गरेको छ ?

जुन कम्पनीसँग ‘आइस भेहिकल’ छ, ती कम्पनीले इभी पनि बनाउन थालेका छन् । इभीले पक्कै पनि पेट्रोलियम गाडीको मार्केटमा असर गरेको छ । तर, धेरै व्यापारीहरूले इभी गाडीहरू पनि ल्याउन थालिसकेका छन् ।

इभीको प्रयोग बढ्दै जाँदा केही कम्पनीलाई असर गरेको छ । तर, जुन कम्पनीले इभी पनि बनाइरहेका छन्, तिनलाई यसले खासै असर गरेको देखिँदैन ।

मार्केटमा अहिले ७० प्रतिशत इभी छन् । त्यसले गर्दा अन्य गाडीलाई त असर गरेकै छ ।

तर, आइस भेहिकल बिकेकै छैन भन्न सकिँदैन । ती सवारीसाधन पनि बिकिरहेकै छन् । अहिले मार्केटमा इभीको हिस्सा बढी छ । तर, अन्य सवारीसाधन पनि बिकिरहेकै छन् ।

इभी आउनेबित्तिकै अन्य गाडी बन्द नै हुन्छन् भन्ने छैन । त्यो पनि उत्तिकै मात्रामा बिक्री भइरहेको छ । त्यसको पनि नयाँ–नयाँ डिजाइन आइरहेको छ ।

पहिला इभीको मार्केट हिस्सा २० प्रतिशत थियो । अहिले ७० प्रतिशत छ । कुनै–कुनै ब्रान्डले त विद्युतीय गाडी ल्याउनै बन्द गरिसकेका छन् । केही ब्रान्डको राम्रै बिक्री भइरहेको छ ।

  • दुवै किसिमका व्यापारीलाई असर नगर्ने गरी कस्तो नीति आवश्यक पर्ला ?

ड्युटी (भन्सार) मा धेरै चलखेल हुनुहुँदैन । बैंक फाइनान्स सबै प्रकारको गाडीमा ८० प्रतिशत पु¥याउनुपर्छ । ड्युटी र फाइनान्समा कडाइ गर्ने हो भने यो क्षेत्रमा असहज हुन्छ ।

बैंकहरूमा पैसा थुप्रिएको छ । लगानी गर्न पाएका छैनन् । अटो क्षेत्र बैंकका लागि लगानी गर्ने राम्रो क्षेत्र हो । किनभने फाइनान्स गरिसकेपछि हरेक महिना किस्ता बुझाउनु पर्छ । जसले गर्दा बैंकहरूले अटो क्षेत्रमा लगानी गर्नु नै अहिलेको लिक्विडिटी कम गर्ने राम्रो उपाय हो ।

राम्रो भइरहेको कुरा पनि अचानक नीति परिवर्तन हुँदा समस्या हुन्छ । अहिले धेरै व्यापारीहरूले लगानी गरेका छन् । सरकारले नयाँ–नयाँ नीति ल्याएर असर पु¥याइरहेको छ । यसो नगरे पनि सवारीसाधनको व्यापारलाई सहज हुन्थ्यो ।

व्यापारीलाई असर गर्ने खालका नीतिहरू आउनुहुँदैन । ‘कस्ट अफ अपरेसन’ बढाउने, दुःख दिने खालको नीति आउनुहुँदैन ।

  • ‘इभीमा भविष्य छैन, बिग्रिएपछि बनाउने ठाउँ हुँदैन’ भन्ने पनि सुनिन्छ, यसलाई कसरी लिनुभएको छ ?

कसैले इभी किन्दै छ भने त्यसको बारेमा हेरेर, बुझेर मात्र किन्नुपर्छ । यसका लागि सचेतना आवश्यक छ । नियम मात्र ल्याएर हुँदैन ।

गाडी किन्दा कुन गाडी, कोसँग किन्दै छु । त्यसको पार्टपुर्जा कहाँ पाइन्छ, बुझेर किन्नुपर्छ । त्यसका पार्टपुर्जा आएका छन् कि छैनन् भन्ने पनि थाहा हुनुपर्छ ।

मान्छे अहिले जे कुरामा पनि ठगिन सक्छ । त्यसका लागि त कुन कम्पनीको पार्टपुर्जा प्रशस्त पाइन्छ, कुन कम्पनीको गाडी बिग्रिएपछि बनाउन समस्या हुन्छ, त्यो कुरा त बुझ्नुप¥यो नि !

नेपालमा कुन ब्रान्ड चलेको छ ? कुनमा विश्वास गर्ने ? त्यो गाडीको आयातकर्ता को हो ? सबै बुझ्नुपर्छ ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।