‘हौसिएको’ कर्जा प्रवाह ‘करेक्सन’ हुँदै फर्कियो लयमा, बैंकहरू असुलीमा केन्द्रित

वास्तविक अवस्थामा आइपुगे बैंक, फेरि बढ्ला लगानी ?


काठमाडौँ । विगतमा अस्वाभाविक व्यापार बढाएका बैंक तथा वित्तीय संस्थाहरू अहिले संकुचनमा आइपुगेका छन् ।

विशेष गरी कोरोना महामारीपछि अधिक कर्जा प्रवाह गरेका बैंक वित्तीय संस्थाहरू यतिखेर वास्तविक अवस्थामा आइपुगेको चित्रण हुन थालेको छ ।

कोरोना महामारीपछि असाध्यै बढेको कर्जा प्रवाह अहिले संकुचनमा छ । यसलाई बैंकरहरू अप्रत्यक्ष रूपमा ‘करेक्सन’को अवस्था भनेर चित्रण गर्छन् ।

‘विगतमा बैंकहरूले पनि हौसिएर लगानी गरे । निजी क्षेत्रले पनि हौसिएर लगानी गर्‍यो,’ एक वाणिज्य बैंकका सिइओ भन्छन्, ‘अहिले त्यो हौसाइ लेभलमा आएको छ । हामीलाई हाम्रो वास्तविकता थाहा भएको छ ।’

एक पटक उचाइमा पुगिसकेपछि फेरि केही समय ब्रेक हुनु अर्थतन्त्रलाई तत्कालका लागि हानिकारक भए पनि दीर्घकालका लागि राम्रो भएको उनको मत छ ।

कोरोना महामारीपछि उत्कर्षमा पुगेको कर्जा प्रवाह ५ वर्षको अवधिमा संकुचनको विन्दुबाट फेरि बढ्न सुरु गरेको छ । यसले अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्‍याउन सहयोग गरेको ती बैंकर बताउँछन् ।

आ.व. २०७७/७८ मा निजी क्षेत्रमा गएको कर्जा २६.३२ प्रतिशतले बढेको थियो । त्यसपछि २०७८/७९ मा १३.२७ प्रतिशतले बढेको कर्जा २०७९/८० मा १२.३० प्रतिशता संकुचित भएको थियो ।

आव २०८०/८१ मा ९.९३ प्रतिशतले बढेको कर्जा प्रवाह आव २०८१/८२ को चैतसम्ममा ७.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत असारसम्ममा ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कर्जा विस्तार भएकामा चैतसम्ममा ७.१ प्रतिशतले बढेर ५५ खर्ब ३४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

विगतमा यसरी कर्जा विस्तारमा जोड दिएका बैंकहरूले अहिले कर्जा असुलीमा हैरानी खेपिरहेका छन् ।

पत्रपत्रिकामा हरेक दिनजसो कालोसूची र धितो लिलामको सूचनाहरू सार्वजनिक भइरहेका छन् ।

अहिले बैंकहरूले लगानीमा भन्दा कर्जा असुलीमा ध्यान केन्द्रित गरेको अर्का एक बैंकरले बताए । ‘चक्र सोहीअनुसार विकसित भइरहेको छ । विगतमा कर्जाको बढी आवश्यकता छ सोचियो, त्यतै ध्यान दिइयो । अहिले असुलीमा ध्यान दिइएको छ,’ ती सिइओले भने ।

विगतमा आवश्यकता नै कर्जा लगानी भएको र राष्ट्र बैंकले पनि सोहीअनुसार नीति बनाएको उनको तर्क छ ।

विगत १० वर्षयता महाभूकम्पले क्षतविक्षत् नेपाली समाजलाई माथि उठाउन र कोरोना महामारीपछिको सुस्ततालाई चिर्न कर्जा विस्तारमा जोड दिइएको थियो ।

तर, १० वर्षपछि कर्जा लगानीलाई नै सोच्न बाध्य बनाउने गरी असुलीमा समस्या भएको ती बैंकर बताउँछन् ।

राष्ट्र बैंकका अनुसार चालु आवको चैतसम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ५.०५ प्रतिशत पुगेको छ । यस्तै विकास बैंकहरूको ५.२९ प्रतिशत र फाइनान्स कम्पनीको १३.०४ प्रतिशत पुगेको छ ।

निष्क्रिय कर्जा बढ्दै जाँदा अहिले बैंकहरू दबाबमा छन् । यसरी दबाबमा पर्दै जाँदा बैंकहरूले आफ्नो धरातल थाहा पाएको अर्का एक बैंकर बताउँछन् ।

केही बैंकहरू अहिले कर्जा दिन नसक्ने अवस्थामा छन् । केही बैंकहरू पुँजी कोष सहज भएका कारण कर्जा दिन सक्ने अवस्थामै छन् ।

यद्यपि उनीहरू पनि अहिले कर्जा प्रवाहलाई धेरै नै बढाउने मनस्थितिमा नरहेको बैंकरहरू बताउन थालेका छन् ।

तर, आगामी आर्थिक वर्षमा भने अर्थतन्त्रको अवस्था सुधार हुँदै जाने अपेक्षा उनीहरूको छ । जसले गर्दा कर्जाको माग पनि बढ्ने र विस्तार पनि केही हदसम्म सुधार हुने उनीहरूको बुझाइ छ ।

सरकारले केही नीतिमा सहजीकरण गर्ने र अर्थतन्त्र चलायमान बनाउन काम गर्ने हो भने अबको अवस्था राम्रो रहेको अर्का एक बैंकर बताउँछन् ।

सरकारले निर्माण क्षेत्रको बक्यौता रकम मात्रै तिरिदिँदा पनि अर्थतन्त्र चलायमान हुन बल पुग्ने बैंकरहरू बताउँछन् ।

साथै निजी क्षेत्रलाई पनि केही विशेष सुविधाहरू ल्याएर प्रोत्साहन गर्न सकिएमा अहिलेको निराशा चिर्न सकिने उनीहरूको विश्वास छ ।

सरकारले आगामी आवको बजेटमा नै त्यस्ता विषयलाई सम्बोधन गर्न सक्नुपर्नेमा उनीहरूको जोड छ ।

प्रकाशित मिति: ३० वैशाख २०८२, मंगलबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।