विद्युतीय सवारीको लोकप्रियता बढ्दा आइस गाडी निर्माता संकटमा


काठमाडौँ । बजारको गति समात्न नसक्दा वर्षौँसम्मको लेगेसी पनि मेटिन्छ भन्ने कथनको उचित उदाहरण हो नोकिया मोबाइल । कुनै समयमा मोबाइल भनेकै नोकिया भनिन्थ्यो । हाल नोकियाको उक्त लोकप्रियता र सफलताको कथा कथामै सिमित भएको छ ।

यस्तै अर्को एउटा उदाहरण हो क्यामेरा उत्पादक ब्राण्ड कोड्याक । कुनै समयमा विश्व बजारमा दबदबा कायम गरेको कोड्याकले पनि समयानुकुल उत्पादनलाई प्राथमिकतामा नराख्दा अहिले उसको अस्त्त्वि मेटिएको छ ।

पछिल्लो दशकमा विद्युतीय सवारीको उत्पादनमा आएको छलाङले नोकिया मोबाइल र कोड्याक क्यामेरा जस्तै विश्व बजारमा चलेका चर्चित अटो मेकरको अस्त्वि पनि संकटमा पर्दै गएको छ । विश्वभर विद्युतीय सवारी साधनको लोकप्रियता चुलिँदै जाँदा परम्परागत इन्जिनयुक्त गाडी निर्माता संकटमा पर्दै गएका छन् ।

पछिल्लो दशकमा विद्युतीय सवारीको उत्पादनमा आएको छलाङले नोकिया मोबाइल र कोड्याक क्यामेरा जस्तै विश्व बजारमा चलेका चर्चित अटो मेकरको अस्त्वि पनि संकटमा पर्दै गएको छ । विश्वभर विद्युतीय सवारी साधनको लोकप्रियता चुलिँदै जाँदा परम्परागत इन्जिनयुक्त गाडी निर्माता संकटमा पर्दै गएका छन् ।

जसको पछिल्लो उदाहरण हो – जापानी अटोमेकर कम्पनी निसान । सन् १९११ मा स्थापना भएको निसान हाल अस्तित्व संकटबाट गुज्रिरहेको छ । यसैबीच कम्पनीले विश्वभरका सात कारखाना बन्द गर्ने र ११ हजार बढी कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

यस अघि सन् २०२४ को नोभेम्बर महिनामा कम्पनीले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । यसरी ६ महिनाको अन्तरालमै कम्पनीले २० हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । कम्पनीले खर्च कटौती गर्ने भनी नोभेम्बरमा सो निर्णय गरेको हो ।

हाल निसानका विश्वभर सञ्चालित कारखानाहरुमा करिब १ लाख ३३ हजार ५०० बढी कर्मचारी कार्यरत छन् । निसानका नयाँ प्रमुख कार्यकारी इभान एस्पिनोसाले उत्पादन लागत, बजारको अनिश्चितता, र अमेरिकी टैरिफको असरले कम्पनीले ठूलो घाटा व्यहोर्नु परेको बताएका छन् । कम्पनीले ६ खर्ब ७० अर्ब येन (४ अर्ब ५० करोड डलर) बराबरको घाटा रिपोर्ट गरेको छ ।

विश्वव्यापी रुपमा इभिको तीव्र विकासले आइस गाडी निर्माता छायाँमा पर्दै आएका छन् । जलवायु परिवर्तनबाट सिर्जित समस्याहरुको सामना गर्न इभिको प्रयोग बढाउनु पर्ने र पेट्रोलियम पदार्थको प्रयोग घटाउने गरी विभिन्न देशहरुले लिएको हरीत नीति, इभि प्रवद्र्धनका लागि सरकारी तथा निजी क्षेत्रबाट भएको पहलका कारण आइस गाडीहरुप्रति उपभोक्ताको चासो समेत घट्दै गएको छ ।

जसका कारण निसान जस्ता कम्पनीहरुले चीन र अमेरिका जस्ता बजारमा आफ्ना ग्राहक गुमाउँदै गएका छन् । आइस कारहरुको बिक्री पनि क्रमिक रुपमा घट्दै गएको छ । साथै पछिल्लो समय चीनमा इभि कम्पनीहरुले सिर्जना गरेको दबाबका कारण परम्परागत ब्रान्डहरूको अस्तित्व संकटमा पर्दै गएको छ ।

सन् २०२५ को फेब्रुअरी महिनामा निसान, होन्डा र मित्सुबिसी एकापसमा गाभिने योजना भएपनि उक्त योजना असफल हुँदा कम्पनीको भविष्य अझ अनिश्चित बनेको छ । गाभिने योजना सफल भएको भए उक्त समूह ६० अर्ब डलर बराबरको विश्वको चौथो ठूलो अटो कम्पनी बन्ने थियो । यसरी तीव्र गतिमा विस्तार भइरहेको इभि बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्थ्यो ।

निरन्तर घाटामा गएको निसानले जापानमा निर्माण गर्न लागिएको इभि र ब्याट्री कारखानाको योजना पनि रद्द गरेको छ । उक्त योजना रद्द हुँदा कम्पनीको इभिको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने देखिन्छ ।

इभि उत्पादक कम्पनीहरुले आक्रामक रुपमा विश्वबजार ओगट्दै गर्दा संकटमा परेका कम्पनीहरुको सूचीमा जर्मनी अटोमेकर फोक्सवागन समेत रहेको छ । कुनै समयमा युरोपको नम्बर वान अटोमेकर कम्पनी फोक्सवागन विविध आन्तरिक तथा राजनीतिक हस्तक्षेपका कारण अस्तित्व संकटको सामना गरिरहेको छ ।

त्यसैगरी परम्परागत अटोमोबाइल कम्पनीहरूले समयमै बजार अनुकुल रणनीति अवलम्बन गर्न सकेनन् भने विद्युतीय सवारी उत्पादन गर्ने नयाँ कम्पनीहरूले बजारमा प्रभुत्व जमाउने सम्भावना रहेको अटोमोबाइल क्षेत्रका विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: ३० वैशाख २०८२, मंगलबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।