काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन विद्युतीय सवारीसाधन (इभी) को आयात बढ्दै गएको छ ।
इभीको माग बढेसँगै व्यापारीले कमसल खालका गाडी पनि भित्र्याउन थालेका छन् । जसको दीर्घकालनी असर पर्ने र सर्वसाधारणमा इभीप्रतिको मोह नै घट्ने जानकारहरू बताउँछन् ।
२०७५ सालपछि नेपालमा इभीको माग बढ्न थालेसँगै नयाँ–नयाँ ब्रान्ड भित्रिने क्रम पनि ह्वात्तै बढेको हो । २०७५ सालअघि इभीको माग खासै भएको पाइँदैन ।
माग बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढेकाले गुणस्तरहीन गाडी तथा मोटरसाइकल र स्कुटर बजारमा भित्रिन थालेका छन् ।
पछिल्लो ६ वर्षमा नेपाली बजारमा ४ दर्जनभन्दा बढी ४ पांग्रे र ८० भन्दा बढी २ पांग्रे इभी ब्रान्ड भित्रिएका छन् । तर, ती सबै ब्रान्ड नेपालमा स्थापित भएका छैनन् ।
कुनै ब्रान्डले त केही मात्रामा सवारीसाधन ल्याएर त्यसलाई चाहिने पार्टपुर्जा नै नल्याइकनै आयात बन्द गरिसकेका छन् ।
यिनै समस्यालाई मध्यनजर गर्दै सरकारले इभी व्यवस्थापनका लागि मापदण्ड लागू गर्ने तयारी गरेको छ ।
निश्चित मापदण्ड र सर्त पूरा गर्नेले मात्र इभी आयात गर्न पाउने गरी सरकारले मापदण्ड ल्याउन लागेको हो । इभीलाई व्यवस्थित गर्ने गरी मापदण्ड ल्याउन लागिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंहले बताए ।
यद्यपि यसलाई कस्तो बनाउने भन्ने विषयमा भने अहिले नै निर्णय भइनसकेको उनको भनाइ छ ।
अहिले ड्राफ्ट तयार भइरहेको बताउँदै उनले भने, ‘अहिले जसले पनि कमसल र गुणस्तरहीन इभी आयात गर्दै आएका छन् । मापदण्डले यसलाई व्यवस्थित गर्छ भन्ने कुरा हो ।’
इभीसँग सम्बन्धित ऐनहरू नभएका कारण मापदण्ड ल्याउन लागिएको उनको भनाइ छ । मापदण्ड जतिसक्दो छिटो लागू गर्ने उनको भनाइ छ ।
विभागले कम्पनीको क्षमता, गुणस्तर र सेवाग्राहीले पाउने सेवा सुविधा विषयमा केन्द्रित भएर मापदण्ड बनाउने तयारी गरेको हो ।
-
इभीको व्यापार अहिले जसरी चलिरहेको छ, त्यसैगरी चल्न दिनुपर्छ : व्यवसायी
सरकारैपिच्छे इभी आयातमा फरक–फरक नीति आउने गरेकाले आफूहरू समस्यामा पर्ने गरेको अटो व्यवसायी आकाश गोल्छा बताउँछन् । इभीलाई प्रोत्साहन गर्ने हो भने सरकारले नीति, मापदण्ड जस्ता कुराहरूलाई परिवर्तन गरिरहन नहुने उनको तर्क छ ।
‘राम्रो भइरहेको कुरा पनि अचानक नीति, मापदण्ड परिवर्तन हुँदा समस्या हुन्छ,’ उनले भने, ‘अहिले धेरै व्यापारीले लगानी गरेका छन् । सरकारले नयाँ–नयाँ मापदण्ड ल्याएर असर पुर्याइरहेको छ । यसो नगरे सवारीसाधनको व्यापारलाई सहज हुन्थ्यो ।’
इभीको व्यवस्थापन गर्ने हो भने कुनै मापदण्ड, नीतिभन्दा पनि सचेतना बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘कसैले इभी किन्दै छ भने त्यसको बारेमा हेरेर, बुझेर मात्र किन्नुपर्छ । यसका लागि सचेतना आवश्यक छ । नियम मात्र ल्याएर हुँदैन ।’
-
कति आयात हुन्छ इभी ?
चालु आर्थिक वर्षको ९ महिनामा झन्डै ८ हजार युनिट इभी आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चैत मसान्तसम्म ७ हजार ९५८ युनिट विद्युतीय सवारीसाधन (कार, जिप र भ्यान) आयात भएको हो ।
सो अवधिमा १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात भएको छ ।
उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा १२.१९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बराबरका ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात गरेको थियो ।
यता, आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ३ करोड ८० लाख रुपैयाँ बराबरको ४७ वटा विद्युतीय सवारीसाधन (कार, भ्यान, जिप) आयात भएको थियो । जुन अहिलेको तुलनामा ३६ गुणाले कम हो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालमा २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरको १ हजार ७०१ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
-
कुन ब्रान्डका कति भित्रिए ?
नेपालको इभी बजारमा प्रमुख रूपमा चिनियाँ र भारतीय ब्रान्ड लोकप्रिय छन् । विशेष गरी चिनियाँ ब्रान्डहरूले नेपालमा उल्लेखनीय स्थान बनाएका छन् ।
नेपालमा चीनको बिवाइडी ब्रान्ड अत्यन्त लोकप्रिय बनेको छ । बिवाइडीले नेपालमा डल्फिन, अटो थ्री र सिल मोडलहरू ल्याएको छ ।
त्यस्तै, चिनियाँ नेटा ब्रान्डले पनि नेपाली बजारमा चर्चा बटुल्न सफल भएको छ । नेटा एक्स र नेटा भी मोडेलहरू सस्तो मूल्य र अत्याधुनिक प्रविधिसहित बजारमा आएका छन् ।
भन्सार विभागका अनुसार करोडभन्दा माथिका गाडीमध्ये १ वर्षको अवधिमा सबैभन्दा बढी किया मोटर्स नेपाल भित्रिएको छ ।
त्यस्तै, स्काइवेल कम्पनीको ‘इटी५’ ३२ युनिट र बिएमडब्ल्यूको ‘आइएक्स३’ र हुन्डाई ‘आयोनिक–५’ ३० युनिट भित्रिएको विभागले जनाएको छ ।
त्यस्तै, सबैभन्दा कम आयात हुने गाडीमा टाइकन छ । जसले १ वर्षमा एउटा मात्रै गाडी भित्र्याएको विभागले जनाएको छ ।
प्रतिक्रिया