काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् । अर्थमन्त्री पौडेलको सचिवालय स्रोतका अनुसार अपराह्न ४ बजेको लागि सिफारिस समिति बैठक बोलाइएको हो ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि सोमबारको लागि तय भएको मन्त्रिपरिषद् वैठक स्थगित गरिएको थियो।
गभर्नर सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् ।
समितिको बैठक आज बस्ने बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकले समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम अनुमोदन गर्ने छ ।
सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।
उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।
२५ चैतदेखि नेतृत्वविहीन रहेको राष्ट्रबैंकमा नयाँ गभर्नर चयन गर्न सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १६ चैतमा गभर्नर सिफारिस समिति बनाएको थियो । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर सिफारिस प्रक्रिया अघि बढाएको हो ।
प्रतिक्रिया