गर्भनर नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस, को–को परे ?


काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर सिफारिस समितिका लागि आह्वान गरेको बैठक सपन्न भएको छ ।

सिफारिस समितिले गर्भनर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरी मन्त्रीपरिषद्मा पठाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकले समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम अनुमोदन गर्ने छ ।

सिफारिस समितिको बैठकले डा. विश्वनाथ पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको छ । तथापि राष्ट्र बैंकको १८औँ गर्भनरको रुपमा अर्थविद् डा. विश्वनाथ पौडेल नै नियुक्ति हुनेगरी सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच सहमति भइसकेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

२५ चैतदेखि नेतृत्वविहीन रहेको राष्ट्रबैंकमा नयाँ गभर्नर चयन गर्न सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १६ चैतमा गभर्नर सिफारिस समिति बनाएको थियो । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर सिफारिस प्रक्रिया अघि बढाएको हो ।

 

प्रकाशित मिति: ६ जेठ २०८२, मंगलबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।