बर्सेनि बढेको बढ्यै सार्वजनिक ऋणको भार, जिडिपीको तुलनामा ४३ प्रतिशत बढी

कसको कति ऋण तिर्न बाँकी छ ?


काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको सार्वजनिक ऋणको आकार बर्सेनि बढ्दै गएको छ । विगत १० वर्षको तथ्यांक हेर्दा कुल गार्हस्थ उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको भार बढ्दै गएको देखिन्छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा जिडिपीको तुलनामा सार्वजनिक ऋणको भार २५.६५ प्रतिशतले बढी थियो । आव २०७२/७३ मा २७.९२ प्रतिशतले बढेको सार्वजनिक ऋणको भार २०७३/७४ मा भने केही घट्दै २६.८४ प्रतिशतले मात्र बढी थियो ।

आव २०७४/७५ र २०७५/७६ मा समान ३०.२६ प्रतिशले भार बढ्दा आव २०७६/७७ मा भने ३८.०५ प्रतिशतले बढेको देखिन्छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ४०.७३ प्रतिशतले बढेको ऋण आव २०७८/७९ मा ४१.५ प्रतिशतले बढेको थियो । आव २०७९/८० मा ४२.७७ र आव २०८०/८१ मा ४२.६७ प्रतिशतले बढेको ऋणको भार चालु आवको १० महिनामा ४२.९४ प्रतिशतले बढेको छ ।

चालु आवको १० महिनामा कुल सार्वजनिक ऋणको आकार २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड र बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ ।

यो पछिल्लो १० वर्षको तुलनामा २० खर्ब ७७ अर्ब ४८ करोड १४ लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७१/७२ मा नेपालको सार्वजनिक ऋणको आकार ५ खर्ब ४० अर्ब रुपैयाँ थियो, जसमध्ये आन्तरिक ऋण २ खर्ब १ अर्ब र बाह्य ऋण ३ खर्ब ३९ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालको आन्तरिक ऋणतर्फ ट्रेजरी बिल ३ खर्ब ५९ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ बराबरको छ । डेभलपमेन्ट बन्ड ८ खर्ब ८७ अर्ब ९० करोड ७० लाख रुपैयाँको छ ।

नागरिक बचत खातामार्फत् १५ अर्ब २ करोड २ लाख रुपैयाँ छ भने वैदेशिक रोजगार बचत फन्ड ३६ करोड ३४ लाख रुपैयाँ र आइएमएफ फन्ड ३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ छ ।

कार्यालयको तथ्यांकअनुसार वैदेशिकतर्फ द्विपक्षीयमा जापान इन्टरनेसनल कर्पाेरेसन एजेन्सीको ५६ अर्ब ७० करोड ७७ लाख ५० हजार १६ रुपैयाँ ऋण तिर्न बाँकी छ । एक्जिम बैंक लाइन अफ क्रेडिट इन्डियाको ३६ अर्ब ७१ करोड २७ लाख ८१ हजार ४६४ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, चाइनिज युआन रेन्बीको ३४ अर्ब ९७ करोड ९३ लाख २४ हजार ४४० रुपैयाँ ऋण नेपाल सरकारले तिनुपर्ने छ । यसैगरी, ४ अर्ब ६९ करोड ६५ लाख २१ हजार ७११ रुपैयाँ एक्जिम बैंक अफ कोरियाको ऋण छ । साउदीको ३ अर्ब ४४ लाख ८० हजार ५९४ रुपैयाँ ऋण छ ।

नाटिक्स् बैंक फ्रान्सको १ अर्ब ५ करोड ५० लाख ६१ हजार ८२७ रुपैयाँ ऋण नेपालको थाप्लोमा छ भने कुवेतको १ अर्ब ७२ करोड ९२ लाख ६६ हजार, बेल्जियमको ४४ करोड ८० लाख १ हजार ७०८ रुपैयाँ बराबरको ऋण नेपालीको थाप्लोमा छ ।

यस्तै, बहुपक्षीयतर्फ इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनको ८ खर्ब ८० अर्ब २३ करोड ८५ लाख २० हजार ६२७ रुपैयाँ ऋण छ । युरोपियन इन्भेस्टमेन्ट बैंकको १८ अर्ब ९६ करोड ९७ लाख ८ हजार ५९४ रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै, एसियन इन्फ्रास्टक्चर बैंकको १ अर्ब ६७ करोड ३४ लाख ५९ हजार ४६५, नोर्डिक डेभलपमेन्ट फन्डको १ अर्ब ६८ करोड ६३ लाख ३ हजार ३८० रुपैयाँ ऋण छ ।

आपेक फन्ड फर इन्टरनेसल डेभलपमेन्टलाई तिर्नुपर्ने ६ अर्ब ५९ करोड ३३ लाख २ हजार ३९४, इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनलाई तिर्नुपर्ने ऋण ५ करोड २४ लाख रुपैयाँ छ ।

यसैगरी इनटरनेसनल फन्ड फर एग्रिकल्चर एसोसिएसनको ११ अर्ब १ करोड ३७ लाख ९९ हजार ३४२ रुपैयाँ तिनुपर्ने छ भने युरोपियन इकोनोमिक काउन्सिलको १२ करोड ९६ लाख ३४ हजार ८९९ रुपैयाँ ऋण नेपालले तिर्न बाँकी छ ।

कार्यालयको तथ्यांकअनुसार वैदेशिक मुद्राका आधारमा नेपालले चाइनिज युआन रेमिन्बी १ अर्ब ८४ करोड १० लाख १७ हजार ७५ तिनुपर्ने छ । डेनिस क्रोनर २ लाख ६०८ तिनुपर्ने छ । यसैगरी युरो ६ करोड २५ लाख २ हजार ८० तिर्नुपर्ने छ ।

यस्तै, १० लाख ६ हजार ८४६ पाउन्ड स्टर्लिङ, ६१ अर्ब ३७ करोड २० लाख २३ हजार ८२७ जापानिज येन, ४८ अर्ब ८२ करोड ३ लाख ९२ हजार १० साउथ कोरियन येन तिर्नुपर्ने छ ।

यसैगरी, ३८ लाख ८६ हजार ६९० कुवेती दिनार, ८ करोड २३ लाख ५९ हजार ६६५ साउदी रियाल ऋण नेपालीको थाप्लोमा छ ।

यस्तै, ५ अर्ब ३४ करोड ३४ लाख १७ हजार १०२ स्पेसल ड्रइङ राइट्समार्फत् तिर्नुपर्ने छ । १ अर्ब ८८ करोड ११ लाख १८ हजार ६५७ अमेरिकी डलर ऋण तिर्न बाँकी रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।