अब एकल अंकको सेयर बेच्न सकिने, ‘अडलट’ को छुट्टै मार्केट डेप्थबाट कारोबार गर्ने प्रणाली आउँदै


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले १ देखि ९ कित्तासम्मको ‘अडलट’ कारोबार गर्न मिल्ने सिस्टम ल्याउने भएको छ ।

अहिले लगानीकर्ताले खातामा बोनस आएर बसेको १ देखि ९ कित्ता सेयर बेच्न अर्को १० कित्ता सेयर किन्नु पर्ने बाध्यता छ । अब त्यो बाध्यताको अन्त्य हुने भएको छ ।

नेप्सेले बोनस आएर खातामा थन्किएर बसेको २ कित्ता सेयर बेच्न अर्को १० कित्ता सेयर किन्नु पर्ने भएकोले लगानीकर्तालाई दोब्बर कमिसन, डिम्याट शुल्क बुझाउनु पर्ने समस्याको समाधानको लागि यस्तो सिस्टम ल्याउन लागेको हो ।

अहिले बोनस आएर बसेको सेयर बेच्न नपाउँदा लगानीकर्ताले घाटा व्यहोरिरहनु परेको छ । अन्य सेयर बिक्री भएर बाँकी भएको ९ कित्ता सेयर खातामा हुँदा बोनस पनि फ्राक्सनमा जम्मा हुने र मूल्य समायोजन हुँदा सेयर मूल्य घट्ने समस्या उत्पन्न भइरहेको छ ।

एकल अंकको सेयर संख्या डिम्याट खातामा रहीरहँदा पोर्टफोलियो अव्यवस्थित देखिने र लगानीकर्तालाई समस्या उत्पन्न हुने भएकोले यस्तो सिस्टम लागु गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँले बताए ।

अहिले डिम्याट खातामा बोनस आएर बसेको एकल अंकको सेयर बेच्न आफैले कारोबारी खोज्नुपर्ने हुन्छ । बिक्री गर्न चाहेको सेयर संख्या र मूल्य सिस्टमबाट म्याच गराएपछि मात्रै कारोबार सम्पन्न हुन्छ ।

सेयर बिक्री गर्नुपरेमा खरिदकर्ता खोजेर उही संख्या र उही मूल्य दुवैले टीएमएसमा अर्डर पोस्ट गर्नुपर्छ । जुन एकदमै झन्झटिलो हुनुका साथै चलेको मार्केट प्राइजमा सेयर बिक्री गर्न समेत पाइदैँन ।

१ देखि ९ कित्ता भने ‘अडलट’ कारोबार अन्तर्गत पर्दछ । अब अडलट कारोबारलाई पनि नियमित जसरी नै १–९ कित्ता कारोबार गर्न सक्ने व्यवस्था बनाउने तयारी गरिएको चापागाईँले बताए ।

लगानीकर्ताको वर्षैदेखिको समस्या समाधानको लागि यस्तो व्यवस्था गर्न लागिएको बताउँदै उनले भने, ‘हामी यसलाई छिट्टै नै सञ्चालनमा ल्याउने तयारी गरेर अघि बढेका छौँ  । ’

‘उक्त सिस्टम आएपछि अडलटको पनि छुट्टै मार्केट डेप्थ हेरेर कारोबार गर्न सकिने छ । यसबाट सूचक वा कम्पनीको मूल्यलाई पनि कुनै असर गर्दैन’ उनले भने ।

अडलट कारोबारमा ब्रोकरले लिने कमिशन पहिलेकै अनुसार भएको खण्डमा भने अडलटको कारोबार खुदाउँदा पनि लगानीकर्तालाई खासै राहत नपुग्ने भएकाले यसमा पनि नयाँ व्यवस्था गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: १३ जेठ २०८२, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।