काठमाडौँ । सरकारले सुनमा २ प्रतिशत विलासी कर लगाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत् सुनमा २ प्रतिशत विलासी कर लगाउने घोषणा गरेका हुन् । जसले गर्दा साउनदेखि सुनको भाउ स्वतः २ प्रतिशत बढ्ने भएको हो ।
चालु आर्थिक वर्षमा १० लाखभन्दा बढीका गहना किन्दा लाग्दै आएको विलासी कर अब एउटा फुली किन्दा पनि लाग्ने भएको छ । विलासी कर लागू भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली बजारमा भने प्रतितोला ५ हजारसम्म बढी मूल्य तिर्नुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढिरेहकाले मूल्यमा चाप परेका बेला लगाइएको करले माग झनै घट्ने देखिएको छ ।
गत वर्ष पनि सरकारले सुनमा भन्सार महसुल दर २० प्रतिशत पुर्याएको थियो । जसले गर्दा अवैध कारोबार बढेकाले मंसिरमा त्यसलाई घटाएर १० प्रतिशतमा झारेको थियो भने चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको थियो ।
भारत र नेपालको सुनको भन्सार महसुलमा ठुलो अन्तर देखिएपछि सरकारले महसुल समायोजन गर्न बाध्य भएको थियो ।
सुनलाई विलासी वस्तु भन्न मिल्दैन : व्यवसायी
सरकारले सुनमा विलासी कर लगाउनु जायज नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘सरकारले पहिलादेखि नै १० लाखभन्दा माथिको सुन खरिदमा विलासिता कर लगाएको थियो । त्यतिबेलादेखि नै हामीले सुन भनेको विलासी वस्तु होइन भनेका थियौँ,’ उनले भने, ‘विलासी वस्तु भनेको रक्सी, चुरोट जस्ता कुरा हुन् । जुन एक पटक प्रयोग गरेपछि सकिन्छ । तर, सुन पटकपटक प्रयोग गर्न मिल्छ ।’
सुन भनेको परिवार वा देशकै सम्पत्ति भएको उनले बताए । सुन भनेको रक्सी खाए जस्तो नभईकन बचत लगानी गर्ने ठाउँ भएको उनको तर्क छ । महँगो वस्तुलाई विलासी भन्नु सरकारको गलत व्याख्या रहेको उनले बताए ।
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै बढ्ने क्रम नरोकिएकाले नेपालमा यस्ता खालका कर लगाउँदा सुन बिक्रीमा नै समस्या आउने उनको भनाइ छ । ‘अमेरिकन डलरको सक्रियता घटेको छ, रिजर्भ बैंकहरूले सुनको स्टक बढाउँदै लगेका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानीको थलो बनाइरहेका छन् । जसले गर्दा नेपालमा भाउ त बढ्छ नै । सरकारले लगाएको यस्तो करले व्यवसायीलाई झनै नकारात्मक असर पार्छ ।’
व्यवसायीले पनि सुन खरिद गर्न सक्ने व्यवस्था स्वागतयोग्य
अब सुनचाँदीका गहना विदेश निर्यात गर्ने उद्योगीहरूले आफैँ सुन आयात गर्न सक्ने भएका छन् ।
सरकारले बजेटमार्फत् निर्यातमुखी उद्योगले नै सुन आयात गर्न सक्ने व्यवस्था गरेको हो । सुनचाँदीका गहना विदेश निर्यात गर्ने उद्योगहरूले आफ्नै नाममा सुन आयात गर्न पाउने सरकारको यो निर्णय स्वायतयोग भएको निवर्तमान अध्यक्ष शाक्यले बताए ।
सुनमा बैंकको मात्र एकाधिकार नरहेको बताउँदै उनले सरकारको यो निर्णयसँगै अब व्यवसायीले आफ्नो हिसाबले सुन आयात गर्न पाउने बताए । बजेटमा सुन निर्यात गरी प्राप्त हुने ५० प्रतिशत विदेशी मुद्राको प्रयोग गरी सुनचाँदी आयात गर्न दिइने व्यवस्था लागू गर्ने व्यवस्था छ ।
अहिले वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गरी बजारमा पठाउँदै आएको थियो ।
५ वर्षमा १ लाख रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ५ वर्षमा सुनको भाउ झन्डै १ लाख रुपैयाँले बढेको छ । २०७८ जेठ ९ गते तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन ९७ हजार ९०० रुपैयाँले बढी हो ।
२०७८ मा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ २०७७ को जेठमा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, २०७८ मा २०७७ को तुलनामा ६ हजार रुपैयाँले बढेर सुनको मूल्य ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । २०७९ मा सुनको मूल्य २०७८ को तुलनामा २०७९ मा ५००० रुपैयाँले बढेर ९८ हजारको हाराहारीमा रुपैयाँ पुगेको थियो ।
२०७९ मा ५००० रुपैयाँले बढेको सुनको भाउ २०८० देखि ह्वातै बढ्न सुरु भएको हो । २०८० सालको जेठमा सुनको मूल्य १ लाख १० हजार रुपैयाँको हाराहारीमा पुग्यो । जुन २०७९ को तुलनामा १२ हजार रुपैयाँले बढी हो ।
यस्तै २०८० को तुलनामा २०८१ मा सुनको भाउ ३० हजार रुपैयाँले बढ्यो । २०८१ को जेठमा सुनको मूल्य १ लाख ४० हजारको हाराहारीमा कारोबार भएको थियो ।
२०८० को तुलनामा २०८१ मा सुनको भाउ प्रतितोला ५१ हजार रुपैयाँले बढेर सुनको भाउ अहिले १ हजार ९१ हजारको हाराहारीमा पुगेको छ ।
कुन वर्ष कति भित्रियो सुन ?
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ वैशाखसम्म १३ हजार ३१० किलो सुन भित्रिएको छ ।
५ वर्षमा १ खर्ब २६ अर्ब १ करोड ९३ लाख ३ हजार रुपैयाँ बराबरको सुन आयात हुँदा सरकारले १५ अर्ब ७६ करोड ४४ लाख ११ हजार राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ९२४ किलो सुन आयात भएको छ । कुल २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको ३ हजार ९२४ किलो सुन भित्रिएको हो ।
उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब ३३ करोड ५८ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ५३ किलो सुन आयात भएको छ । ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँ बराबरको ५ हजार ५३ किलो सुन आयात भएको हो । आर्थिक वर्ष २०७८/७९ मा भएको सुन आयातबाट सरकारले ४ अर्ब २९ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँमा २ हजार ९१६ किलो सुन आयात गरेको छ । सरकारले उक्त सुनबाट २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार राजस्व संकलन गरेको देखिन्छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा २ हजार ६५१ किलो सुन आयात भएको छ । उक्त सुनको मूल्य २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको छ । उक्त परिमाणको सुन आयात हुँदा सरकारले ३ अर्ब ६४ करोड ८३ लाख ७ हजार राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनासम्ममा १ हजार ३८९ किलो सुन १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँमा आयात भएको छ । उक्त परिमाणको सुनबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया