काठमाडौँ । नेपालमा औषधि उत्पादन गर्ने ७२ वटा उद्योग छन् । यी उद्योगहरूले एन्टिबायोटिक, दुखाइ निवारक, एन्टासिड, मह्लमलगायत धेरै थरी औषधि उत्पादन गर्दै आएका छन् ।
नेपाली औषधि उत्पादकहरूका अनुसार राज्यले ध्यान दिने हो भने यहाँ बन्न सक्ने औषधि बाहिरबाट ल्याउनुपर्दैन । औषधिमा आत्मनिर्भर बन्ने मात्र होइन, निर्यात गर्ने क्षमता राख्ने उत्पादनको क्षेत्र भने राज्यको उपेक्षामा परेको छ । फलस्वरुप नेपालमै बन्ने औषधि प्रयोगलाई निरुत्साहन गर्नै अर्बौं रुपैयाँको औषधि बाह्य देशबाट आयात भइरहेको छ ।
३ प्रश्नको आजको अंकमा हामीले नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेशप्रसाद प्रधानसँग नेपालमा औषधि उत्पादनको अवस्था, क्षमता र राज्यको नीतिबारे कुरा गरेका छौँ ।
-
नेपालमा औषधि उत्पादनको अवस्था कस्तो छ ?
औषधि उत्पादन उद्योग राज्यको उपेक्षामा परेको क्षेत्र हो । यो क्षेत्र कहिल्यै बजेटमा समेटिएन । सरकारी उद्योगका लागि केही बजेट छुट्याउनेबाहेक यो क्षेत्रको विकासमा राज्यले ध्यान दिएको छैन ।
राष्ट्रिय अर्थतन्त्रलाई विचार गरेर औषधि उत्पादनको क्षेत्रलाई बजेटमा समेट्नुपर्नेमा समेटिएन । यो नेपालको सबैभन्दा बढी विज्ञान प्रयोग हुने क्षेत्र हो । औषधि उत्पादन गर्ने उद्योगहरूको विकास गर्न सक्ने हो भने हजारौँ जनशक्तिले राजगारी पाउने थिए । रोजगारीकै लागि बिदेसिनुपर्ने नागरिकको संख्या केही कम हुन्थ्यो ।
जनशक्ति रोजगार हुँदा राष्ट्रिय उद्योगको उत्थान भएर समग्र अर्थतन्त्र नै विकास हुने हो । औषधि उत्पादन क्षेत्रलाई समवेदनशील क्षेत्र मानेर प्रोत्साहनको नीति ल्याउनु जरुरी छ ।
-
औषधि उत्पादन क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ ?
नेपालीमा उत्पादन हुने औषधि आयातमा पूर्ण प्रतिबन्ध लगाउनु पर्छ । नेपालमै उत्पादन गर्न सकिने औषधि प्रयोगलाई बढावा दिँदै सरकारी स्वास्थ्य संस्था तथा अन्य निकायमा विदेशी औषधि प्रयोगमा रोक लगाउनुपर्छ । औषधिलाई संसारभरि खुला बजारमा प्रतिस्पर्धा गर्न दिइन्छ । नेपाल सरकारले पनि खुला बजारमा प्रतिस्पर्धा गर्ने नीति बनाउनुपर्यो । आर्थिक रूपमा, प्रशासनिक रूपमा औषधिलाई स्वतन्त्र रुपमा बजारमा आउन दिनुपर्यो ।
हाम्रोमा त सबै कुरा सस्तो खोज्ने बानीले पनि औषधिले बजारमा खुला भएर आउन पाएको छैन । खाना सस्तो, औषधि सस्तो, मानिस पनि सस्तो, विचारधारा पनि सस्तो खोज्ने चलन छ । सस्तो नभएर गुणस्तरीय खोज्ने नीति ल्याउन सके स्वदेशी औषधि चाहिए जति उत्पादन गर्न सकिन्छ । नेपालमा पुर्याएर विदेश निर्यात गर्न सक्ने क्षमता उद्योगहरूको छ ।
-
यसमा तपाईंहरूले के पहल गर्नुभएको छ ?
हामीले विभिन्न निकाय र नेतृत्वसँग यसबारे कुरा गरेका छाँै । योजना पेस गरेका छौँ । तर, राज्य सञ्चालन गर्नेहरूमा दूरदर्शिता नभएपछि उद्योगीको एक्लो पहलले मात्रै केही नहुने रहेछ ।
राज्य सञ्चालकहरू आयातमुखी र रेमिट्यान्समुखी अर्थतन्त्रमै भर पर्दा स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनातर्फ ध्यान दिन सकेको पाइँदैन । राजनीतिक भाषणमा एउटा कुरा गर्ने र व्यवहारमा उल्टो भएपछि उद्योग व्यवसायमैत्री वातावरण बन्न सकेको छैन ।
यस्तो वातावरण व्यापारले मात्र बन्दैन, सम्रग राज्यले बन्छ, राज्यको नीतिले बन्छ, कर्मचारीतन्त्रले बन्छ । राज्यले सहयोग गरेर नेपाललाई पनि आत्मनिर्भर बनाऊ, विदेशमा पनि बेच भनेर वातावरण तयार गरिदिनुपर्छ ।
प्रतिक्रिया