नगद सकियो, एटिएम छैन ? अब जुनसुकै बैंकको रकम सिटिजन्सको क्युआरबाटै निकाल्न सकिन्छ


काठमाडौँ । कल्पना गर्नुहोस्, तपाईं कतै घुम्न जानुभएको छ । वा तपाईंलाई तत्काल नगद चाहियो, तर तपाईंले प्रयोग गर्ने बैंकको एटिएम सो स्थानमा उपलब्ध छैन । गोजीमा भएको चेक साट्न सम्बन्धित बैंक पनि छैन । वालेटबाट भुक्तानी गर्न मिल्ने अवस्था पनि छैन भने के गर्ने ?

आमव्यक्तिले यस्तो समस्या कुनै न कुनै समयमा भोगेकै हुनुपर्छ । कहिलेकाहीँ त साथीलाई नगद लिएर बोलाउनुपर्ने अवस्थासमेत आएको हुन सक्छ । तर, अब यस्तो अवस्थामा चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । नजिकै सिटिजन्स बैंक इन्टरनेसनलको शाखा भए तपाईंको समस्या समाधान हुनेछ ।

किनभने अब सिटिजन्स बैंकले नेपालमै पहिलो पटक यस्तो सेवा ल्याएको छ, जसले तपाईंलाई कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर सिटिजन्स बैंककै शाखाबाट नगद झिक्न मिल्ने सुविधा दिएको छ ।

सिटिजन्स बैंकले हालै ल्याएको नयाँ सेवा हो – ‘क्रस बैंक टेलर क्युआर’ । सिटिजन्स बैंकको यो सुविधा प्रयोग गरी अब जुनसुकै बैंकमा भएको बचत रकम पनि तपाईंले क्युआर स्क्यानमार्फत् नगद प्राप्त गर्न सक्नुहुन्छ ।

बैंकले ‘ब्रिक बैंकिङ टू क्लिक बैंकिङ’ भन्ने मूल नारालाई आत्मसात गर्दै यो सेवा सुरु गरेको हो । यसले एटिएम बोकेर हिँड्नुपर्ने झन्झट र एटिएम खोज्दै सहर धाउनुपर्ने बाध्यता पनि अन्त्य गरेको छ ।

नेपाली बैंकिङ क्षेत्रमा सिटिजन्स बैंकले यो नवीन सुरुआत गरेको हो, जसले डिजिटल बैंकिङलाई थप बढावा दिन ग्राहकलाई थप आकर्षित गर्नेछ ।

  • कसरी लिने सेवा ?

यदि तपाईंको खाता अर्कै बैंकमा छ । तपाईंको मोबाइलमा त्यो बैंकको मोबाइल बैंकिङ एप छ । तर, तपाईं अहिले रहेको ठाउँमा तपाईंको बैंकको एटिएम छैन, न त शाखा नै । यदि त्यहाँ सिटिजन्स बैंकको शाखा छ भने यो सुविधा तपाईंहरूले सहजै प्रयोग गर्न सक्नुहुनेछ ।

यसका लागि तपाईं सीधै सिटिजन्स बैंकको नजिकैको शाखामा जानुपर्छ । त्यसपछि त्यहाँ काउन्टरमा उपलब्ध क्रस बैंक टेलर क्युआर कोड स्क्यान गर्नुपर्छ, तपाईंको बैंकको एपमार्फत् । त्यो क्युआर स्क्यान गरेपछि आवश्यक रकम त्यहाँ टिपोट गर्नुपर्छ । त्यसको केही सेकेन्डमै नगद तपाईंको हातमा पर्नेछ ।

यसका लागि कुनै चेक, कार्ड, कागजपत्र– केही पनि देखाउनु नपर्ने भएकाले पनि प्रयोग गर्न एकदमै सहज हुनेछ । बिनाझन्झट सहजै अरू बैंकमा भएको रकम सिटिजन्स बैंकको क्युआरबाटै झिक्न सकिने भएपछि तपाईंको काम छिटो र सरल तरिकाले हुने बैंकले जनाएको छ ।

  • नेपालमै पहिलो प्रयोग

क्युआर प्रणाली प्रयोग गरेर नगद भुक्तानी लिन सक्ने यस किसिमको सुविधा नेपालमै पहिलो पटक प्रयोग भएको हो । यस्तो किसिमको क्युआर प्रणाली प्रयोग गरेर नगद भुक्तानी लिन सक्ने सुविधा नेपालमा पहिलो पटक सिटिजन्स बैंकले नै ल्याएको हो ।

यो सेवा फोन पे क्युआर नेटवर्कअन्तर्गत सञ्चालन गरिएको बैंकले जनाएको छ । यसले डिजिटल रूपमा ग्राहकलाई बैंकसँग जोड्न झनै सहज हुने बैंकले जनाएको छ । बैंकले यो सेवा गत वैशाख ७ देखि बैंकको १९औँ वार्षिकोत्सवको अवसर पारेर सुरु गरेको हो ।

कतिपय ठाउँमा एटिएम नपुगेको अवस्था अझै छ । यतिमात्र नभएर सहरमा पनि सबै ठाउँमा सबै बैंकको एटिएम छैन । यस्तो अवस्थामा सिटिजन्स बैंकको यो सेवा निकै उपयोगी सावित हुने देखिन्छ ।

बैंकका अनुसार क्युआरमार्फत् सुरक्षित रूपमा नगद झिक्न सकिने भएकाले यसले बचतकर्तालाई डिजिटल प्रविधिमैत्री बनाउन थप सहयोग गर्छ । जसले डिजिटल बैंकिङमा थप आकर्षण बढ्ने बैंकले जनाएको छ ।

यसअघि विश्वका विभिन्न मुलुकमा क्युआर स्क्यान गरी नगद झिक्ने सेवा सञ्चालन भइरहे पनि नेपालमा भने यस्तो सुविधा आइसकेको थिएन । सिटिजन्स बैंकले यस किसिमको अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै नेपालमा क्युआरमार्फत् नगद झिक्न सकिने सरल सेवाको सुरुआत गरेको हो ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।