काठमाडौँ । आर्थिक वर्ष २०८१\८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तरबैंकिङ कारोबारमा लाग्ने सेवा शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेका थिए । अर्थमन्त्रीको उक्त निर्णयसँगै अन्तरबैंकिङ कारोबारमा कमी आएको थियो ।
तर, आगामी आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले अन्तरबैंकिङ कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटाएका छन् । गत १५ जेठमा संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले भ्याट हटाउने घोषणा गरेका थिए ।
अन्तरबैंकिङ कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटेसँगै कारोबार रकम पनि बढ्ने अपेक्षा गरिएको छ । अन्तरबैंकिङ कारोबारमा भ्याटको प्रावधान लागू भएपछि जनस्तरबाट चर्को आलोचना भएको थियो ।
आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार बजेटमार्फत् भ्याटको प्रावधान हटाइएको हो ।
राष्ट्र बैंकको २०२३\२४ र चालु २०२४\२५ (सन्) को तथ्यांक हेर्दा अन्तरबैंकिङ कारोबारमा गिरावट आएको छ । वाणिज्य बैंकहरूको अन्तरबैंकिङ कारोबारमा ठुलो गिरावट आएको देखिन्छ ।
कारोबारमा लाग्दै आएको भ्याट हटेपछि अन्तरबैंकिङ कारोबार बढ्ने आशा गरिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०२३\२४ को अगस्ट महिनामा वाणिज्य बैंकहरूले ५ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँको अन्तरबैंकिङ कारोबार गरेका थिए । चालु आर्थिक वर्षको अगस्ट महिनाको वाणिज्य बैंकहरूको अन्तरबैंकिङ कारोबार ५१ अर्ब ५० करोड रुपैयाँ मात्र छ ।
गत आर्थिक वर्षको सेप्टेम्बर महिनामा ३ खर्ब ६२ अर्ब ७५ करोड ६ लाख रुपैयाँ अन्तरबैंकिङ कारोबार भएकामा चालु आर्थिक वर्षको सेप्टेम्बरमा १ खर्ब ३८ अर्ब ६० करोड रुपैयाँ मात्र कारोबार भएको छ ।
यस्तै, गत आर्थिक वर्षको अक्टोबर महिनामा ३ खर्ब ८५ अर्ब ३१ करोड रुपैयाँ कारोबार भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा १ खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ मात्र अन्तरबैंकिङ कारोबार भएको छ ।
आर्थिक वर्ष २०२३\२४ को नोभेम्बर महिनामा ४ खर्ब ३४ अर्ब २१ करोड रुपैयाँको अन्तरबैंकिङ कारोबार भएकामा चालु आवको सोही अवधिमा ९९ अर्ब ५ करोड रुपैयाँ मात्र कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
गत आवको डिसेम्बर महिनामा ३ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँको अन्तरबैंकिङ कारोबार गरेका वाणिज्य बैंकहरूले चालु आवको डिसेम्बरमा १ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँको मात्र अन्तरबैंकिङ कारोबार गरेका थिए ।
यस्तै, गत आवको जनवरीमा २ खर्ब ३५ अर्ब ३१ करोड रुपैयाँको अन्तरबैंकिङ कारोबार हँुदा चालु आवको जनवरीमा वाणिज्य बैंकहरूको अन्तरबैंकिङ कारोबार १ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी आर्थिक वर्ष २०२३\२४ को फेब्रुअरी महिनामा २ खर्ब ७९ अर्ब २० करोड रुपैयाँ अन्तरबैंकिङ कारोबार भएकामा चालु आवको फेबु्रअरीको कारोबार रकम १ खर्ब ९१ अर्ब ९० करोड रुपैयाँमा खुम्चिएको थियो ।
गत आवको मार्च महिनामा २ खर्ब ७९ अर्ब २० करोड रुपैयाँको अन्तरबैंकिङ कारोबार गरेका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको सोही महिनामा २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँ कारोबार गरेको राष्ट्र बैकको तथ्यांकमा उल्लेख छ ।
यस्तै, गत आवको अप्रिल महिनामा २ खर्ब ९१ अर्ब ५० करोड २१ लाख रुपैयाँको अन्तरबैंकिङ कारोबार भएकामा चालु आवको सो महिनामा उक्त रकम घटेर २ खर्ब १ अर्ब १० करोड ४ लाख रुपैयाँमा झरेको छ ।
यस्तै, गत आवको मे महिनामा २ खर्ब ९० अर्ब ६० करोड १४ लाख रुपैयाँ रहेको वाणिज्य बैंकहरूको अन्तरबैंकिङ कारोबार चालु आर्थिक वर्षको मेमा १ खर्ब ७ अर्ब ५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया