१० महिनामा सवा २ अर्बको आइपिओ निष्कासन अनुमति


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विभिन्न कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन अनुमति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार धितोपत्र बोर्ड (सेबोन) ले सो रकम बराबरको आइपिओ जारी गर्न कम्पनीहरूलाई अनुमति दिएको हो ।

१० महिनामा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ गरी कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

यस्तै, आर्थिक वर्ष २०८१\८२ को १० महिनाको अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर, २० अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपिओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

७६ कम्पनी आइपिओको पाइपलाइनमा

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ३६ वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । हिमपर्वत ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आइपिओ निष्कासन पाइपलाइनमा छ ।

त्यस्तै, यमलिङ हाइड्रोपावर लिमिटेड, मबिलुङ हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायत कम्पनीहरू आइपिओको निष्कासनको पाइपलाइनमा छन् ।

होटल तथा पर्यटन समूहअन्तर्गत ५ वटा कम्पनीको आइपिओ पाइपलाइनमा छ । यो समूहमा होटल फरेस्ट इन लिमिटेड, बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, वारनाबास मुसुएम होटल लिमिटेड, माउन्टेन ग्लोरी लिमिटेड आइपिओ निष्कासनका लागि पाइपलाइनमा छन् ।

लगानी समूहतर्फ वरुण इन्भेस्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आइपिओ ल्याउँदै छन् ।

उत्पादन तथा प्रशोधन समूहतर्फ १७ कम्पनीको आइपिओ पाइपलाइनमा छ । एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेडलगायत कम्पनीको आइपिओ आउँदै छ ।

त्यस्तै, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टिल्स लिमिटेड, जगदम्बा स्टिल्स लिमिटेड, सागर डिस्टिलरीलगायतले आइपिओ ल्याउने तयारी गरिहेका छन् ।

लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ निष्कासनका लागि बोर्डमा विचाराधीन छ । त्यस्तै, लघुबिमा (माइक्रो इन्स्योरेन्स) तर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्न बोर्डमा निवेदन दिएका छन् ।

अन्य समूहका १० कम्पनी आइपिओको पाइपलाइनमा छन् । डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स हस्पिटल) लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकोप्टर सर्भिस लिमिटेड, झापा इनर्जी लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिज, जिआई सोलार लिमिटेड, सौर्य फार्म लिमिटेडले आइपिओ ल्याउँदै छन् ।

कुल ७६ कम्पनीले ५२ अर्ब ४८ करोड १६ लाख १३ हजार २३२ रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी गरेका छन् । ७६ कम्पनीले अनुमति पाएमा ३६ करोड ८७ लाख २९ हजार ४०१ कित्ता सेयर बजारमा बिक्रीका लागि खुल्नेछ ।

पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै ३६ जलविद्युत् आयोजनाले १७ अर्ब ८९ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको १७ करोड ९९ लाख ११ हजार ४८५ कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

त्यस्तै, उत्पादन तथा प्रशोधनतर्फका १७ कम्पनीको २४ अर्ब ७९ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको ११ करोड ३१ लाख ७२ हजार १३२ कित्ता सेयर पाइपलाइनमा छ ।

यस्तै, अन्य समूहका १० कम्पनीको ३ अर्ब ४२ करोड १२ लाख ५२ हजार ९०० रुपैयाँ बराबरको २ करोड ७४ लाख ९० हजार ५२९ कित्ता सेयर पाइपलाइनमा छन् ।
यस्तै, होटल तथा पर्यटन क्षेत्रका ५ कम्पनीले २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ८१ लाख २० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् ।
यसैगरी, लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ९३ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ५० हजार ३७५ कित्ता आइपिओ जारी गर्न आवेदन दिएका छन् ।

३ माइक्रो इन्स्योरेन्स कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता तथा एक माइक्रोफाइनान्स कम्पनीको ८० लाख बराबरको ८० हजार कित्ता सेयर आइपिओको पाइपलाइनमा छ ।

यस्तै सालपा विकास बैंकको १७ करोड २३ लाख रुपैयाँ बराबरको १७ लाख २३ हजार कित्ता आइपिओ पनि पाइपलाइनमा छ ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  ०६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।