काठमाडौँ । वालिङ–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
“वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ”, मल्लले भने, “पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।” फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्याएका थिए । फर्ममा हाल २०० बढी घार रहेका छन् ।
जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए । जङ्गलको मह प्रतिकेजी १हजार ५०० रुपैयाँ र तोरीको मह प्रतिकेजी १ हजारका दरले बिक्री हुने गरेको मल्लले बताए । “चालु आर्थिक वर्षमामात्रै फर्मबाट १ हजार केजी मह बिक्री गरेको छु । त्यसबाट १३ लाख रुपैयाँ आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको ८०० रुपैयाँ का दरले र टुनीको घारसहित ९ हजार रुपैयाँका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा ३०० फ्रेम मौरी बिक्रीबाट २ लाख ४० हजार आम्दानी भएको छ”, उनले सुनाए ।
फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य २ जनाले पनि उनलाई साथ दिएका छन् । स्थापनाकालदेखि हालसम्म २५ लाख रुपैयाँ लगानी भएको उनले बताए । “यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ”, उनले भने, “उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।”
प्रतिक्रिया