अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक वैज्ञानिक तवरले निर्धारण गरिने


काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरवलोकन गर्ने गरी तयारी थालेको छ ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा गठित सो समितिले यस पटक श्रमिक र रोजगारदाता दुवैको जित हुने गरी वैज्ञानिक तरिकाले पारिश्रमिक वृद्धि गर्ने तयारी थालेको जनाएको छ ।

विगतमा बजार मूल्यलाई आधार मानेर श्रमिकको पारिश्रमिक वृद्धि गरिँदै आएकामा यस पटक बजार मूल्यसहित श्रमिकको माग, उत्पादन र उत्पादकत्वसमेतलाई विश्लेषण गरेर पारिश्रमिक पुनरवलोकन गरिने छ ।

हाल श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ८२० रुपियाँ र महँगी भत्ता छ हजार ४८० सहित १७ हजार तीन सय रुपैयाँ रहेको छ । चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक आठ हजार ९३४ रुपियाँ र महँगी भत्ता चार हजार ९५९ रुपियाँसहित १३ हजार ८९३ रुपैयाँ रहेको छ ।

विद्यमान पारिश्रमिक २०८० साउन १ देखि कार्यान्वयनमा छ । श्रम ऐन अनुसार औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक हरेक दुईरदुई वर्षमा बजार भाउका आधारमा पुनरवलोकन गर्ने नियम छ ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार  ०७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।