गलैँचा उत्पादक संघका अध्यक्षलाई ३ प्रश्न

‘कच्चा पदार्थदेखि हरेक काममा भ्याट अनिवार्य गर्दा उत्पादन लागत बढिरहेको छ’

‘उद्योग सञ्चालनदेखि निर्यातसम्म राज्यले सहजीकरण गरिदिनुपर्छ’


काठमाडौँ । हस्तकलामा आधारित अल्लोलगायत स्थानीय स्तरमै पाइने वस्तुहरूबाट गलैँचा उत्पादन नेपालको पम्परागत व्यवसाय हो । पछिल्लो समय नेपालको गलैँचा विश्वका धेरै देशमा निर्यात हुने गरेको छ ।

नेपालमा उत्पादन भएको गलैँचा ९९ प्रतिशत निर्यात हुने गरेको यस क्षेत्रमा लागेका व्यक्तिहरू बताउँछन् । जानकारहरूका अनुसार यदि उत्पादनमा नवीनता, गुणस्तर र उचित मापदण्ड कायम गर्न सकेमा नेपाली गलैँचा उद्योगले विश्व बजारमा ठुलो स्थान पाउने देखिन्छ ।

३ प्रश्नको आजको अंकमा हामीले नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङसँग यसै विषयमा रहेर कुराकानी गरेका छौँ ।

  • नेपालमा गलैँचा उत्पादन, कच्चा पदार्थ, जनशक्ति र बजारको अवस्था कस्तो छ ?

उत्पादन निरन्तर भइरहेको छ । एक हिसाबले कलाको क्षेत्र भएकाले जनशक्ति पनि युवा नै बढी परिचालित छन् । गलैँचा ९८ देखि ९९ प्रतिशतसम्म निर्यात हुने भएकाले नेपाली बजारले नभएर विदेशी बजारले यसमा प्रभाव पार्छ ।

३० प्रतिशतको हाराहारीमा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने गरिएको छ । सरकारले आवश्यक ध्यान दिएर आवश्यक पहलकदमी गर्न सकेको अवस्थामा निर्यातको प्रचुर सम्भावना भएको क्षेत्र हो ।

  • गलैँचा उत्पादनको क्षेत्र मुख्य चुनौतीचाहिँ के हो ?

पहिले निर्यात हुने वस्तु भनेर भ्याट छुटको व्यवस्था थियो । तर, पछिल्लो २ वर्षदेखि भ्याट अनिवार्य गरिएको छ ।

यसमा बढी जनशक्ति आवश्यक पर्ने भएकाले उद्योगलाई एकत्रित गर्न सकिएको अवस्था छैन । कामलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको अवस्था छ ।

ऊन एक ठाउँबाट ल्याउने, धागो बनाउन अन्त पठाउने, धागो रंग्याउन अर्काे ठाउँमा लैजाने, नक्सा बनाउन अन्त पठाउने, फेरि धुन अर्कै ठाउँ लानुपर्ने बाध्यता छ ।

यसरी प्रत्येक ठाउँमा भ्याट लाग्दा समग्र उत्पादन लागत बढी भएको छ । कतिपय घरेलु स्तरमा सञ्चालन गरिएका उद्योग पनि छन् । सानो आकारको भएकाले भ्याटमा जान सक्ने अवस्था हुँदैन । यो कुराले एकदम असहज भएको छ । प्रत्येक कच्चा पदार्थमा भ्याट लगाएको अवस्था छ ।

  • संघले यसलाई कसरी सहजीकरण गरिरहेको छ ? सरकारसँग के माग छ ?

संघको माग र आवश्यकता निर्यातको पक्षलाई बलियो बनाउनुपर्‍यो भन्ने हो । यसका लागि व्यवस्थापन सस्तो हुनुपर्‍यो, जनशक्ति उपलब्ध हुनुपर्‍यो । प्रतिस्पर्धात्मक हुनुपर्‍यो । निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक सहयोग गर्नुपर्‍यो ।

सरकारले आवश्यक तालिम दिने, उद्योगका लागि उचित ठाउँको व्यवस्थापन गरिदिनुपर्छ । काठमाडौँमा गलैँचा उद्योग खोल्न सम्भव छैन, यसका लागि प्रशस्त मात्रामा ठाउँ चाहिन्छ ।

विश्व बजारमा नेपालको उत्पादन पुर्‍याउन पहलकदमी गर्नुपर्छ । नेपालको गलैँचा निर्यात हुने देशहरूसँग गुटनीतिक पहल गर्न आवश्यक छ ।

नेपाली गलैँचाको ५० प्रतिशत बजार अमेरिका हो । अहिलेसम्म नेपालको गलैँचामा शून्य भन्सार थियो । अहिले आएर ट्रम्प सरकारले १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको छ ।

अमेरिकाले दिएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम पनि सकिँदै छ । अहिलेको अवस्थामा विश्वका ८०–९० मुलुकहरू अमेरिकामा लाइन लागेर हामीलाई कर छुट गरिदिनुपर्‍यो भनेर लाइन लागेर बसेका छन् । तर, हाम्रो सरकार कानमा तेल हालेर बसेको अवस्था छ ।

जबकि अमेरिकाको व्यापार युद्ध मुख्य रूपमा चीनसँग हो र चीन पनि पहलकदमी गर्दै छ । अब सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ । हामी यो कुरा गर्छाैं र तिमीहरू यस्तो सहयोग गरिदेऊ भनेर सरकारले भन्न सक्नुपर्छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।