धनकुटा । कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो ।
त्यसक्षेत्रका किसानले चियाबाटै आफ्नो भविष्य बदल्ने सपना देखेका थिए । अन्य बाली छाडेर चियाखेतीमा लागेका किसानले यसैबाट राम्रो आम्दानी हुने आशा गरेका थिए । तर, अहिले ती चियाका बोट किसानको बेवास्तामा परेको पाइएको छ । बजारमा बिक्री नभएपछि किसानले बगानबाट चिया टिप्नै छाडेका छन् ।
वर्षौंदेखि गोडमेल र छाँटकाँटविहीन बनेका चिया बगान अहिले झाँडीमा परिणत भएका छन् । विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा चियाखेती लगाएका थिए । तर, समय बित्दै जाँदा उनले सोचेअनुसार चियाको मूल्य र बजार पाउन सकेनन् ।
उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकिएको उनको गुनासो छ । “चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ”, उनले भने, “मजदुर लगाएर काम गराउँदा झन खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?”
स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग र बजार व्यवस्थापनमा पर्याप्त चासो नदिँदा किसान थप निरास बनेको थापाले बताए । वर्षौंको मिहिनेत र लगानीबाट तयार भएका चियाका बोट अहिले बगानमै खेर गइरहेको थापाको भनाइ छ । यस्तो समस्या भोग्ने कृषक थापामात्रै होइन, पाख्रीबासका अर्का किसान धनबहादुर बस्नेतको समस्या पनि उस्तै छ । करिब १० रोपनी क्षेत्रफलमा चियाखेती गरेका बस्नेतले उत्पादन बिक्री नहुँदा बगानको नियमित हेरचाह गर्नसमेत सकेका छैन । तीन–चार वर्षदेखि छाँटकाँट र गोडमेल नहुँदा चियाका बोट बढेर जङ्गलजस्तै बनेका छन् ।
उत्पादन बिक्री नहुने र बगान व्यवस्थापन गर्दा थप खर्च लाग्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । अहिले पुरानो चिया बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन रहेको बस्नेतको भनाइ छ ।
पाख्रीबासकै अर्का किसान विमल राईले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चियाखेती गरेका छन् । तर, उद्योगले आफूले अपेक्षा गरेअनुसारको मूल्य नदिँदा उनी पनि समस्यामा परेका छन् । चिया बिक्री नभएपछि करिब तीन वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको राईले बताए । उत्पादन भएको चियाको उचित बजार र मूल्य पाउनु मुख्य चुनौती बनेको राईले बताए । बजार सुनिश्चित नहुँदा खेतीमा लगानी गर्ने उत्साह घट्दै गएको छ । वर्षौँसम्म हुर्काएका बोट उपयोगविहीन बन्न थालेपछि किसानको लगानी पनि खेर गइरहेको छ ।
उद्योग बन्द हुँदा रोजगारी र आम्दानीमा असर
स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा राम्चे अग्र्यानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । उक्त उद्योगमा स्थानीय किसानले चिया बिक्री गर्दै आएका थिए । उद्योगमा किसानले उत्पादन गरेको चियाबाट ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीलगायतका विशेष प्रकारका चिया उत्पादन गरिँदै आएको थियो । स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारसम्म पुर्याउने कामले किसानमा चियाखेतीप्रति उत्साह पनि बढाएको थियो ।
उद्योग सञ्चालनमा विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपर्यो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि उद्योगले सञ्चालन खर्च धान्न नसकेर बन्द भएपछि त्यसको प्रत्यक्ष असर स्थानीय चिया किसानमा परेको छ । उद्योग बन्द भएपछि किसानले उत्पादन गरेको चिया खरिद गर्ने भरपर्दो ठाउँ नै नपाएपछि किसानले चिया बिक्री गर्न पाएका छैनन् । त्यसयता चिया बगानको नियमित हेरचाहदेखि उत्पादन बिक्रीसम्मका समस्या बढ्दै गएको किसानको भनाइ छ ।
अन्य बाली छाडेर चियाखेतीमा भविष्य खोजेका किसान अहिले बोट हेर्दै निरास हुनुपर्ने अवस्थामा पुगेका छन् । चिया उद्योग सञ्चालनका लागि पाख्रिबास नगरपालिकाले पहल नगरेको किसानको गुनासो छ । नगरपालिकामा उद्योग सञ्चालनका लागि माग आएको भए पनि बजेट अभावका कारण केही गर्न नसकेको पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गरुङले बताए । उनले किसानले ठूलो बजेट माग गर्ने तर, नगरपालिकासँग सानो सहयोग गर्ने अवस्था पनि नरहेको बताए ।
