सातै प्रदेशका प्रमुख स्थानबाट लिलामी सेयर भर्न पाइने

0
Shares

 

काठमाडौं :  धितोपत्र बोर्डले लिलामी सेयर अब उपत्यका बाहिरबाट पनि भर्न सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार सात वटै प्रदेशका प्रमुख स्थानबाट लिलामी सेयरमा आवेदन दिन पाइने व्यवस्था गरिएको हो ।

जस अनुसार प्रदेश नं १ को विरानटनगर र विर्तामोड, प्रदेश २ मा वीरगन्ज र जनकपुर तथा प्रदेश ३ को काठमाडौं सहित हेटौंडा र नारायणगढबाट पनि लिलामी भर्न सकिनेछ ।

यसैगरी, प्रदेश ४ को पोखरा र बाग्लुङ, प्रदेश ५ मा बुटवल, घोराही र नेपालगन्ज, प्रदेश ६ को सुर्खेत तथा प्रदेश ७ को धनगढी र महेन्द्रनगरबाट पनि लिलामी भर्न पाइनेछ । यही निर्देशन अनुसार काम गर्न मर्चेन्ट बैंकहरुलाई परिपत्र गरिएको समेत धितोपत्र बोर्डले जनाएको छ ।

यसअघि मोफसलका लगानीकर्ताले उपत्यका बाहिरबाट लिलामी भर्न पाउने व्यवस्था गर्न माग गर्दै आएका थिए । यस प्रावधानले राजधानी बाहिरका लगानीकर्तालाई निकै सहज हुनेछ भने लिलामी सेयर बिक्री गर्न पनि सजिलो हुने विश्वास लिइएको छ ।