नेपालमा काम गर्न सक्ने उमेरका ९ लाख ८ हजार बेरोजगार, ७० लाख ८६ हजार रोजगार

0
Shares

नेपालमा काम गर्न सक्ने उमेरका ९ लाख ८ हजार जना व्यक्ति बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्भेक्षणमा ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला बेरोजगार उल्लेख गरिएको छ।

विभागका अनुसार १५ वर्ष वा काम गर्ने उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसंख्यामध्ये ७९ लाख ९४ हजार मात्रै श्रमशक्तिमा रहेका छन्। १५ वर्षमाथिको जनसंख्या दुई करोड सात लाख ४४ हजार रहेको छ। त्यसमा ७० लाख ८६ हजारले रोजगारी पाएका छन्। 

रोजगारीका क्षेत्रमा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला छन् । रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्या काम गर्ने उमेर समूहअन्तर्गतको जम्मा जनसङ्ख्याको ३४.२ प्रतिशत रहेको छ ।

३० दिनदेखि कामको खोजिमा रहेका तत्काल काम गर्नसक्ने १५ वर्ष माथिकालाई बेरोजगार मानिएको छ।

बेरोजगारीे दर ११.४ प्रतिशत

अहिले नेपालको बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ । पुरुषको बेरोजगारी दर १०.३ प्रतिशत र र महिलाको १३.१ प्रतिशत रहेको छ । यसैगरी शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ ।

यसैगरी बसोबासको आधारमा रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्यामध्ये ४९ लाख एक हजार शहरी क्षेत्रमा रहेको र २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा रहेको सर्वेक्षणले देखाएको छ । जम्मा रोजगारीमा रहेको जनसङ्ख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् ।

रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६८ र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत छन् । यसैगरी रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ ।

नेपालमा श्रम केन्द्रित सर्वेक्षणका रुपमा पहिलो पटक सन् १९९८/९९ मा नेपाल श्रम शक्ति सर्वेक्षण भएको थियो । सन् २००८ मा दोस्रो तथा सन् १०१७/१८ मा तेस्रो श्रम शक्ति सर्वेक्षण गरिएको हो । तेस्रो सर्वेक्षणका लागि २०७४ असारदेखि २०७५ जेठसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । 

यस पटकको श्रम शक्ति सर्वेक्षण अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनले श्रम तथ्याङ्क विज्ञहरुको १९ औँ सम्मेलनबाट पारित श्रम तथ्याङ्कसम्बन्धी अवधारणाअनुसार सञ्चालन गरिएको विभागले जनाएको छ ।