२५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, सरकारले ६५ अर्ब भुक्तानी नदिदा बैंकको कालोसूचीमा परिने चिन्ता

0
Shares

सरकारले निर्माण व्यवसायीहरुको करिब ६५ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको व्यवसायीहरूले दाबी गरेका छन् । समयमा भुक्तानी नदिँदा व्यवसायबाट पलायन हुने र बैंकको कालोसूचीमा पर्ने त्रास बढेको उनीहरूले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले मंगलवार गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रवि सिंहले प्रदेश र केन्द्र सरकारले सो रकम नदिँदा व्यवसायीहरु गम्भीर मारमा परेको बताए ।

विषेश गरी प्रदेश र स्थानीय तहमा गएको बजेट निकासा हुन नसक्दा निर्माण व्यवसायीहरु समस्यामा परेको, केन्द्रबाट प्रदेश र स्थानीय तहमा बजेट पठाइएको बताए पनि आवश्यक कर्मचारी र नीति नबनेकै कारण व्यवसायीको रकम भुक्तानी हुन नसकेको बताइएको छ ।

अध्यक्ष सिंहले सरकारले रकम भुक्तानी नगरेकै कारण धेरै व्यवसायीलाई बैंकले कालोसूचीमा राख्ने अवस्था सिर्जना हुन लागेको बताए । उनले आफैंलाई पनि केही दिनभित्र किस्ता नबुझाए कालोसूचीमा राख्ने पत्र बैंकले पठाएको बताउँदै यस्ता समस्या हजारौं व्यवसायीहरुले भोगिरहेको जानकारी दिए ।

महासङ्घका प्रतिनिधिले पटक पटक अर्थमन्त्री डा। युवराज खतिवडा र भौतिक पूर्वधारमन्त्री रघुवीर महासेठलाई भेटेर रकम निकासाका लागि वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् । उनीहरुसँगको भेटमा मन्त्रीले तत्कालै रकम निकासा गर्ने आश्वासन पाए पनि कार्यान्वयन भने हुन नसकेको व्यवसायीको गुनासो छ ।

सरकारले विकास निर्माणमा खर्च हुन सकेन भनेर प्रचार गरिरहँदा निर्माण व्यवसायीहरूलाई भुक्तानी नदिएर दाहोरो चरित्र प्रदर्शन गरिरहेको महासंघले बताएको छ । उपभोक्ता समितिहरू मार्फत निर्माणका काम अगाडि बढाइँदा तल्लो तहबाटै मुलुकमा संस्थागत भ्रष्टाचार मौलाइरहेको र गुणस्तरमा समेत प्रभाव परेको महासंघको धारणा छ ।

२५ जनालाई ज्यान मार्ने धम्की

यस्तै, व्यवसायीहरूले आफ्नो भौतिक तथा पेशागत सुरक्षा माग गरेका छन् । नचिनेका नम्बरबाट निरन्तर धम्कीपूर्ण फोनहरू आइरहेको उनीहरूको भनाइ छ । महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारी लगायत करीब २५ जनालाई केही समययता मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आइरहेको महासंघले जानकारी दिएको छ ।