तोकिएको समयभन्दा ११ वर्षपछि कुलेखानी तेस्रो सम्पन्न, लागत दुई अर्ब २० करोड बढ्यो

0
Shares

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

चिनियाँ कम्पनीका ढिलाइका कारण दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न हुने सो आयोजनाको निर्माणमा अहिलेसम्म चार अर्ब ६३ करोडभन्दा बढी खर्च भइसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि आयोजनाले सुरुङको सफल परीक्षणसमेत गरेको आयोजनाका इञ्जिनीयर सुवास मिश्रले भने ।

कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको छ । चौध मेगावाट क्षमता भएको कुलेखानी तेस्रोले तीन महीना भित्रमा नियमित विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर मिश्रको भनाइ छ ।

विद्युत् गृहका टरर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणका जडान सम्पन्न गरी परीक्षण काम भइरहेको छ । विद्युत्गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तानेपछि काम पूरा हुने इञ्जिनीयर मिश्र भने । आयोजनाले कुलेखानी जलाशयको नियमित बहाब र खानीखोलाको थप पानी प्रयोग गरिनेछ ।