नेप्से १४ अंकले बढ्यो, एक अर्ब तीन करोडको शेयर कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से मंगलबार १४.१२ अंकले बढेर १३१५.४५ बिन्दुमा पुगेको छ। सूचकमा उत्साहजनक वृद्धि भएको बजारमा एक अर्ब तीन करोड माथिको शेयर खरिद बिक्री भएको छ। सोमबारको तुलनामा कारोबार २८ करोड ८ लाख रुपैयाँले बढी हो ।

मंगलबार १७० कम्पनीका ३१ लाख ६६ हजार कित्ता शेयर कारोबार भएको छ । वेवसर्फरको फाइबरमा समस्या आउँदा करिब तीन घण्टा नेप्से वेबसाइटमा लगानीकर्ताले लाइभ डेटा डिस्प्ले हेर्न पाएका थिएनन् । यद्यपी पछिल्लो एक घण्टा डिस्प्ले खुला भएको थियो। पछिल्लो एक घण्टामा मात्रै ४५ करोडको शेयर खरिद बिक्री भएको हो ।

कारोबारमा आएका १२ उपसमुहमध्ये मंगलबार ११ उपसमुहको सूचकमा हरियाली छाएको छ भने व्यापार समुहको सूचक मात्रै ऋणात्मक रह्यो। निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै १४५.८४ अंकले बढेकोे छ । यस्तै उत्पादन तथा प्रशोधन ८४.७१, जीवन बीमा ४३.०८, होटल १७.५७, वाणिज्य बैंक १४.१४, विकास बैंक ११.६, माइक्रोफाइनान्स ९.५, फाइनान्स २.६९, हाइड्रोपावर २.५९, म्युचुअल फण्ड ०.०९, अन्य ०.०८ अंकले सकारात्मक बनेका छन् । व्यापर ०.०७ अंकले घट्यो।

नेपाल बैंकको १० करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टस् ८ करोड ४१ लाख, कृषि विकास बैंकको ७ करोड ८३ लाख, एनसीसी बैंकको ५ करोड ४९ लाख, प्राइम कमर्सियल बैंकको ४ करोड ७१ लाख, अपर तामाकोशीको ३ करोड १५ लाख बराबरको शेयर खरिद बिक्री भयो।
मंगलबार तीन कम्पनीहरु राष्ट्रिय बीमा कम्पनीको संस्थापक र सर्वसाधारण तथा शिवम् सिमेन्टको शेयरमूल्यमा सर्किट लागेको छ। सूर्योदय लघुवित्तका शेयरमूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशतले घटेको छ।

भार्गव विकास बैंक, कृषि विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ओरेन्टल होटल, र युनाईटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढीले उकालो लागेको छ।

सूर्योदय लघुवित्तको शेयरमूल्य ७.५५ प्रतिशत घट्दा जोशी हाइड्रोपावरको शेयरधनीले ५ प्रतिशतले गुमाएका छन्। ग्लोबल आईएमई समुन्नत स्किम १, समीट माइक्रोफाइनान्स, माउन्टेन हाइड्रो नेपाल, कालिका लघुवित्त, सिर्नीजी पावर, एचआईडिसीएलको शेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ।