अठ्ठाइस अंकको वृद्धिपश्चात नेप्सेमा ब्रेक, ९५ करोडको कारोबार

0
Shares

साताको पहिलो दिन आइतबारदेखि बढ्दै आएको शेयर बजार परिसूचक नेप्सेको वृद्धिमा अन्तिम कारोबार दिन बिहीबार ब्रेक लागेको छ । गत बिहीबार ५.६५ अंकले घटेपश्चात चार कारोबार दिनमा नेप्से २८ अंक माथि बढेको थियो। 

बिहीबार नेप्से परिसूचकमा बिहीबार साढे २.२९ अंकको करेक्शन आएपछि १३१८.७१ अंकमा बन्द भएको छ। सूचक घटेसँगै बुधबारको तुलनामा बिहीबार करोबार रकम समेत ९४ करोडले गिरावट आएको छ। सेन्सेटिभ सूचक ०.८१ अंकले घटेर २८१.४४ अंकमा झरेको छ । बढेको शेयरको नाफा सूरक्षित गर्न अल्पकालीन लगानीकर्ताले हाबी हुँदा समग्र बजारमा नकारात्मक बनेको हो।

बिहीबार १७३ कम्पनीका २९ लाख ९२ हजार ६६३ कित्ता शेयर ९४ करोड ७६ रुपैयाँमा खरिद बिक्री भएको छ। बुधबार एक अर्ब ३३ करोडको कारोबार भएको थियो।

 

बिहीबार करोबारमा आएका ११ उपसमुहहरु सूचक मिश्रित देखिएका छन् । ५ समुहको सूचक सकारात्मक बन्दा ६ समुहको सूचक नकारात्मक बनेका छन् । उत्पादन तथा प्रशोधनको सूचक सबै भन्दा धेरै ९९.७४ अंकले सुधार भएको छ । यस्तै निर्जीवन बीमाको २७.२७, विकास बैंकको २१.२५, फाइनान्सको २.८४ र म्युचुअल फण्डको सूचक ०.०८ अंकले सकारात्मक भएका छन् ।

यता होटल समुहको सूचक सबैभन्दा धेरै १२.५६ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा १२.४, वाणिज्य बैंक ८.२४, माइक्रोफाइनान्स ५.२३, हाइड्रोपावर १.३१ र अन्य ०.३१ अंकले नकारात्मक बनेका हुन् । 

बिहीबार शिवम् सिमेन्टको शेयर अधिक मात्रामा कारोबार भएको छ । शिवम्को १३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको ६ करोड ८१ लाख, एनसीसी बैंकको ५ करोड रुपैयाँ, कृषि विकास बैंकको ४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार शिवम् सिमेन्ट र मल्टिपर्पस फाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवम्को शेयरमूल्य १० प्रतिशतले बढ्दा मल्टिपर्पसको शेयरमूल्य ९.६६ प्रतिशतले बढेको हो । कर्णाली डेभलपमेन्ट बैंकको शेयरधनीले ९.१८ प्रतिशतले कमाएका छन् ।

आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य ७.०८, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य ६.३५, महालक्ष्मी विकास बैंकको ५.२१, एनएमबी माइक्रोफाइनान्सको शेयरमूल्य ५.१० प्रतिशतले सुधार भएका हुन् ।

यता कृषि विकास बैंकका शेयरधनीहरुले सबै भन्दा धेरै ३.८८ प्रतिशतले गुमाएका छन् । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, ग्लोवल आईएमई समुन्नत स्किमको इकाई मूल्य, उन्नती माइक्रोफाइनान्स, महिला सहयात्री माइक्रोफाइनान्स, सिभिल लघुवित्त, एनएलजी इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।