कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर न्यून, बचत घट्दा मुद्दती निक्षेप बढ्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर ज्यादै न्यून रहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महीनाको तथ्यांकमा बैंकहरुलाई निक्षेप बढाउन कठिन देखिएको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आवको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १०.६ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह १६.५ प्रतिशतले बढेको छ । गत आवको ९ महीनामा निक्षेप १०.१ र कर्जा १६.९ प्रतिशतले बढेको थियो ।

यद्यपि, वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९.८ प्रतिशत र कर्जाको वृद्धिदर २२.१ प्रतिशत छ ।

बचत घट्दा मुद्दती निक्षेप बढ्यो

समीक्षा अवधिमा मुद्दती निक्षेपमा पैसा जम्मा गर्नेहरु बढेका छने । ब्याजदरमा देखिएको अस्थिरता र उतारचढाबले बचतको आकार घटेको छ भने मुद्दतीको अंश बढेको छ । यस अवधिमा संस्थागत निक्षेपको आकार समेत केही बढेको छ ।

२०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको थियो ।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ । २०७४ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।