एघारवटै उपसूचक झरेपछि नेप्सेमा दोहोरो अंकको गिरावट, नेपाल बैंक र शिवम् सिमेन्टको उच्च कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबारमा आएका एघारवटै उपसमूहको सूचक ऋणात्मक बन्दा नेप्से ११.९३ अंकले घटेको हो ।

नेप्से १३०२.६१ बिन्दुमा झरेको छ भने क वर्गका कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स् २.८२ अंकले घटेर २७७.५६ मा आइपुगेको छ । सूचक घटेसँगै आइतबार कारोबारमा समेत मन्दी देखिएको छ । आइतबार १६५ कम्पनीका २० लाख ५४ हजार २८६ कित्ता ६२ करोड ६२ लाख रुपैयाँ बराबरम शेयर किनबेच भए। बिहीबारको तुलनामा कारोबार ३० करोड ६४ लाख रुपैयाँले घटेको हो ।

आइतबार जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ३८.०१ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ३५.०८, होटल ३२.३६, हाइड्रोपावर ३०.७१, विकास बैंक १४.६५, अन्य ११.७१, वाणिज्य बैंक ९.६, फाइनान्स ५.३८, माइक्रोफाइनान्स ५.१५, उत्पादन तथा प्रशोधन ०.७६ र म्युचुअल फण्डको सूचक ०.०२ अंकले नकारात्मक बनेका हुन् ।

नेपाल बैंक र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा धेरै ४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिबम् सिमेन्टस्को पनि ४ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो। अपर तामाकोशीको ३ करोड ७४ लाख, हिमालयन डिष्टीलरी, कृषि विकास बैंक, एनसीसी बैंकको २ करोड बढीको शेयर कारोबार भएको छ ।

आइतबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ। यस्तै एनएमबि माइक्रोफाइनान्सको ८.५८ प्रतिशत, हिमायलन उर्जा र माउन्टेन हाइड्रोको धनीले पनि आइतबारको बजारबाट ३ प्रतिशतले नाफा कमाएका छन्। शिवम सिमेन्टस्, समता माइक्रोफाइनान्स, सिद्धार्थ इक्वीटी ओरेन्टेड स्किमको इकाई मूल्य, कन्काई विकास बैंकका शेयरमूल्य पनि बढेको छ ।

आइतबारको बजारबाट जोशी हाइड्रोपावरका शेयरधनीले ९.७५ प्रतिशतले गुमाएका छन् । यसैगरि हिमालयन डिष्टीलरीको शेयरमूल्य ७.९० प्रतिशत, राधी विद्युत, अरुण काबेली, मल्टिपर्पस फाइनान्स र घलेम्दी हाइड्रोको शेयरमूल्य पनि ६ प्रतिशत बढीले घट्यो।