आकर्षक कार्यक्रम सहित नेकपा सरकारको दोस्रो बजेट बुधबार, पूर्वाधार ,ऊर्जा ,पर्यटन र कृषि क्षेत्र प्राथमिकतामा

0
Shares

सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नेछन ।

नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।

बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीब १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको छ ।

चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आवको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।

चालू आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।