सेयर कारोबारको पुँजीगत लाभ कर घट्यो, ऋणपत्र बजार प्रभावकारी बनाइने


सरकारले सेयर कारोबार गर्ने व्यक्तिगत लगानीकर्ताको पुँजीगत लाभ कर घटाएको छ । चालु आर्थिक वर्षमा २.५ प्रतिशतले वढाएको पुँजीगत लाभकर आगामी आर्थिक वर्षका लागि घटाएको हो ।
सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट मार्फत व्यक्तिगत लगानीकर्ताको हकमा लाग्ने पुँजीगत लाभ कर घटाएका हो ।

आगामी आर्थिक वर्ष देखि व्यक्तिगत सेयर लगानीकर्ताले पुँजीगत लाभ कर स्वरुप ५ प्रतिशत मात्र तिरे हुने भएको छ । यसैगरी संस्थागत लगानीकर्ताका लागि १० प्रतिशत पुँजीगत लाभ कर भने कायम राखेको छ ।
सरकारले बजेट मार्फत सेयर बजारलाइ विस्तार तथा चलायमान बनाउनका लागि सरकारी ऋणपत्रको कारोबार पनि अनलाइन प्रणालीमा लौजाने भएको छ । सबै प्रकारका धितोपत्र र ऋणपत्रका दोस्रो बजार कारोवार विद्युतीय प्रणालीमार्फत गर्न विद्युतीय कारोवार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाई सरकारी ऋणपत्र खरिदर बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने आगमी आर्थिक वर्षको बजेटमा उल्लेख गरेको छ ।

धितोपत्रको दोस्रो बजारमा निश्चित रकमभन्दा बढी कारोवार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बरसहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध गरिने पनि बजेटमा समाबेस छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको संस्थागत सुधार गर्दै गैरावासीय नेपालीले दोस्रो बजारमार्फत शेयरमा लगानी गर्नसक्ने गरी पूँजी बजारलाई फराकिलो बनाइने लक्ष्य बजेटले लिएको छ ।
साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृतरुपमा प्रकाशन गर्ने व्यवस्था मिलाइ कर्जा सूचना र सुरक्षित कारोवार ऐनमा परिमार्जन गर्ने समेत आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेको छ । ट्रस्टी ऐनतर्जुमा गरी सामूहिक लगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य पनि व्यवस्थित गर्ने भएको छ ।